पृथ्वीनारायण शाहको इतिहास मेटाउन खोज्ने दृष्टता सैह्य हुन्न : नेता केसी

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गरेका छन् ।

आज ३०३औँ पृथ्वीजयन्तीका अवसरमा पूर्वमन्त्री समेत रहेका नेता केसीले सामाजिक सञ्जालमा लेख्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका हुन् ।

उनले विश्वका विभिन्न मुलुकका शासक तथा नेतावर्गले राष्ट्र निर्माण गर्नेहरुको सम्मान गरेको स्मरण गराउँदै राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहको इतिहास मेटाउने प्रयास भएको भन्दै कटाक्ष गरे ।

‘जसरी बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल आदि जारहरूले रूसको, इटलीको राष्ट्र एकीकरणमा काबुर, गेरिवाल्दी र मेज्जिनीको नाम इतिहासमा आउँछ, चीनमा छिन् स ह्वाङ्ती नामक छिन सम्राटकै नामबाट आजको ‘चीन’ नामाकण भएको हो । तर क्रान्तिकारी माओले चीनको नाम फेर्ने सोचाइ लिएनन् । जर्मनीमा हिटलरले बिस्मार्कको शालिक तोडेनन् । हामीले पनि इतिहास मेटाउने वा बङ्ग्याउने विगतका धृष्टता वा कमजोरी बाट आफूलाई जोगाउनु अनिवार्य छ,’ नेत केसीले भनेका छन् ।

राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहले आफ्नो शासकीय जीवनका ३० वर्ष नेपाल एकीकरणका युद्ध, सम्झौता, अभियान र व्यवस्थापनमा बिताएको इतिहास अकाट्य रुपमा रहेको बताए ।

नेता केसीले सामाजिक सञ्जालमा लेखेका छन्,

राष्ट्र निर्माता पृथ्वी नारायण शाह प्रति भावपूर्ण श्रद्धाञ्जलि ! पुस २७ को पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले पुस १६ को नेपाली काँग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवससँग भावनात्मक सामिप्यता राख्दछ । लिच्छबी कालदेखिकै आमचाहनालाई मूर्त रुप दिने ऐतिहासिक नायकको रुपमा पृथ्वीनारायण शाहको योगदानले राष्ट्रिय एकता र सदैव स्वाधीन नेपाली पहिचानको स्थापित गरेकोछ। नेपाल एकीकरण हुनुभन्दा अगाडि छरपस्ट छरिएका पहाडी राज्यहरू पाँच राज्य–समुहमा थिए— (१) ‘तीन शहर नेपाल’ वा ‘नेपाल मण्डल’ भनिने काठमाडौँ उपत्यकाका राज्य समूह, (२) गण्डकी प्रदेशमा अवस्थित पाल्पा तथा लमजुङ् अन्तर्गतका चौबीस राज्यको समूह, (३) कर्णाली क्षेत्रस्थित हुम्ला–जुम्ला राज्य अन्तर्गत पर्ने बाइसे राज्य समूह, (४) पूर्वमा कोशी नदी प्रदेशमा पर्ने मोरङ राज्यको संरक्षित रुपमा रहेका एघारवटा राजौटा समुह, जसलाई इतिहासकारहरूले ‘किराती कबिला गणतन्त्रीय राज्य–समूह’ भन्नेगरेका छन्, र (५) सुगौलीको सन्धीपछि गुमेका कुमाउँ, गढवाल, पूर्वमा ‘सुखिम’ (सिक्किम) र त्यस अन्तर्गतका राज्यसमुह ।

जसरी बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल आदि जारहरूले रूसको, इटलीको राष्ट्र एकीकरणमा काबुर, गेरिवाल्दी र मेज्जिनीको नाम इतिहासमा आउँछ, चीनमा छिन् स ह्वाङ्ती नामक छिन सम्राटकै नामबाट आजको ‘चीन’ नामाकण भएको हो । तर क्रान्तिकारी माओले चीनको नाम फेर्ने सोचाइ लिएनन् । जर्मनीमा हिटलरले बिस्मार्कको शालिक तोडेनन् । हामीले पनि इतिहास मेटाउने वा बङ्ग्याउने विगतका धृष्टता वा कमजोरी बाट आफूलाई जोगाउनु अनिवार्य छ ।

राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहले आफ्नो शासकीय जीवनका ३० वर्ष नेपाल एकीकरणका युद्ध, सम्झौता, अभियान र व्यवस्थापनमा बिताएको इतिहास अकाट्य रुपमा रहेको छ । सुविधा र उपकरण शून्य रहेको चारैतिर साम्राज्य र उपनिवेश बाद को जगजगी को त्यो युगमा राज्य एकीकरण गर्नु लरतरो काम थिएन । सुगौलीको सन्धी (बि.सं. १८७३) नहुन्जेलसम्म पूरा ७१ वर्ष लामो वीरतापूर्ण अभियानबाट आजको नेपालको उदय भयो । एकीकरणबाट नेपाल राष्ट्रको नाम भयो भने ‘गोर्खाली’ साहस र बहादुरीको पर्यायवाची विशेषण विश्व प्रख्यात भयो।

राज्य–राष्ट्रनिर्माणको श्रीगणेश बि.सं. १८०१ मा मेरो गृहजिल्ला नुवाकोटबाटै भयो । नुवाकोटको सफलतापछि नेपालको राजधानी त्यहीँ भयो । विदेशनीति, प्रशासनिक नीति, उद्योग, खानी, खेती, लगायत अर्थनीति, सेना तथा युद्धनीति, छिमेकी राज्यहरूसँगको सम्बन्ध आदि तत्कालीन नेपालका यावत पक्षलाई दिब्यउपदेशले छोएको पृथ्वीनारायणको ‘दिब्यउपदेश’ नुवाकोटमै लिपिबद्ध भएको हो ।

यस ऐतिहासिक तथ्यको धरातलमा उभिएर राष्ट्रिय एकता, प्रजातन्त्र, शान्ति र समृद्धि हासिल गर्ने कार्यमा वर्तमान राज्य व्यवस्था ले एकता,मेलमिलाप, समानता र उर्जाको स्रोत स्थपित गर्न सकोस। यस ऐतिहासिक दिवसको उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?