बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अधिक तरलता व्यवस्थापनका लागि आज फेरी ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरी २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । जसको साँवा र ब्याज भुक्तानी माघ २० गते निर्धारण गरिएको राष्ट्र बैंकको सूचनामा जनाइएको छ । बैंक तथा वित्तीय सस्थाहरुले अधिकतम १० करोड र न्यूनतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने केन्द्र बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा तरलता धेरै भएकै कारण ब्याजदर तल नझरोस् भनेर राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आइरहेको छ । राष्ट्र बैंकले बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गरेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६६ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस २४ गते सम्ममा निक्षेप संकलन उपकरण मार्फत ३८ पटकमा १४ खर्ब ४६ अर्ब ६५ करोड रुपैयाँ उठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?