काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ ।
सहकारी ठगी प्रकरणमा बयानका निम्ति लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौं उपस्थित भएका थिए ।
आज जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।
आज लामिछानेले अदालतमा बयान दिएका थिए । लामिछानेलाई कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा परेको थियो ।
लामिछानेको बयान सकिएपछि बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ अदालत पुगेका थिए । तर सरकारी पक्षका वकिलहरुले रविको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने बताएका थिए । आज थुनछेक बहस हुन नसक्दा न्यायाधीश अधिकारीले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएका हुन् ।
त्यसो त सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया