काठमाडौं । संघीय राजधानीको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव अधिकारीको इजलासमा अहिले बहस जारी रहेको छ । अहिले तर्फबाट सरकारी वकिलको तर्फबाट फणीन्द्र कटुवालले बहस गर्दैछन् ।
इजलासले करिब २ घण्टामा बहस सकाउने तयारी गरेको छ । जसमा लामिछानेका तर्फबाट पूर्वमहान्यायाधीवक्ताहरु रमण श्रेष्ठ र सुशीलकुमार पन्तले बहस गर्नेछन् ।
लामिछाने आइतबार सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका थिए । हिजो थुनछेक बहस नै सुरु नभएका कारण आजका लागि अदालतमा उपस्थित गराइएको हो । त्यसो त लामिछानेलाई हिजो हिरासतमा पठाइएको थियो । आज थुनछेक बहस सकिने र आजै आदेश आउने तयारी गरिएको छ ।
गत बिहीबार पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई ६५ लाख धरौटी तोकिएकोमा सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासतमुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया