काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते काठमाडौंमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
साधारण सभाले २०८१ साल असार मसान्तको वासलात तथा आ.ब. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ । यसैगरी, आव २०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस शेयरसहित ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/८०को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति शेयर आम्दानी १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।
सभामा बोल्दै बैंकका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया