काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकहरुको नाफामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.६० प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनाको अवधिमा बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए ।
धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । यस बैंकले गत वर्षको यही अवधिको तुलनामा नाफामा वृद्धि गरेको हो । नबिल बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा तीन अर्ब ४९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । यस बैंकले दुई अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
यसै गरी, बढी नाफा कमाउने अन्य बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगाले दुई अर्ब ४९ करोड कमाएको छ । धेरै नाफा आर्जन गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा छ ।
धेरै नाफा कमाउने वाणिज्य बैंकहरुमा कुमारी बैंकले एक अर्ब ९९ करोड, प्राइम कमर्सियलले एक अर्ब ९६ करोड, एभरेस्ट बैंकले एक अर्ब ९४ करोड, एनएमबिले एक अर्ब ९० करोड र प्रभुले एक अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको तथ्याङ्क सार्वजनिक भएको छ ।
यस्तै, लक्ष्मी सनराइज बैंकले एक अर्ब ६४ करोड नाफा कमाएको छ । लक्ष्मी सनराइजले ८२.५९ प्रतिशतले नाफा बढाएको हो ।
नेपाल बैंकले एक अर्ब ५१ करोड नाफा कमाएको छ । यस बैंकको नाफा २४.९५ प्रतिशतले बढेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले एक अर्ब ३७ करोड नाफा आर्जन गरेको छ ।
यसै गरी, नेपाल एसबीआई बैंकले एक अर्ब ३४ करोड नाफा आर्जन गरेको छ । यस बैंकले समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । यस बैंकले ९०.४८ प्रतिशतले नाफा बढाएको हो । हिमालयन बैंकले एक अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ ।
एक अर्ब रुपैयाँभन्दा कम नाफा आर्जन गर्नेमा सिद्धार्थ बैंक, सानिमा, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिटिजन्स, एनआईसी एसिया र कृषि विकास बैंक छन् ।
एक अर्बभन्दा कम नाफा कमाउने बैंकहरु
१३ वाणिज्य बैंकको नाफामा वृद्धि हुँदा बाँकी सात बैंकको नाफा भने घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । सिद्धार्थ बैंकले ९७ करोड नाफा कमाएको छ । यस बैंकले समीक्षा अवधिमा ५६.९४ प्रतिशतले नाफा बढाएको हो ।
यसै गरी, सानिमा बैंकले ९० करोड नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख नाफा कमाएको छ । माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख नाफा आर्जन गरेको छ । यसै गरी, सिटिजन्स बैंकले ६९ करोड ४९ लाख नाफा आर्जन गरेको छ ।
सबैभन्दा कम नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । यो बैंकले ६३ करोड ३४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । तथ्याङ्कअनुसार कृषि विकास बैंक ३५ करोड २४ लाख घाटामा छ भने एनआईसी एसिया बैंकको नाफा ६५.७६ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया