काठमाडौं । आज माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति । माघे संक्रान्तिलाई ठाउँअनुसार मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । माघे संक्रान्ति भन्ने बित्तिकै हामी घ्यू, चाकु, तिलको लड्डु, तरुल, पिँडालु, सखरखण्ड, खिचडी आदि खाने दिनको रुपमा वर्णन गरिन्छ । यही खानेकुराहरुले माघे संक्रान्तिको महत्वलाई बढाएको छ । वैज्ञानिक हिसाबले पनि परिकारहरु स्वास्थ्यवर्धक भएको पोषणविद्हरुको भनाइ छ ।
जाडो मौसममा घ्यू, चाकु, तिल जस्ता परिकार खानाले शरीरलाई न्यानो बनाउन मद्दत गर्ने र प्रशस्त मात्रामा क्यालोरी, मिनिरल्स, क्याल्सियम, फाइबर र भिटामिन्स प्राप्त हुन्छ । माघे संक्रान्तिमा खाइने यस्ता खानेकुराहरुबाट हामीलाई केके फाइदा मिल्छ ? कस्ता व्यक्तिले खाने र कस्ता व्यक्तिहरुले खान हुँदैन त ? भन्नेबारे हामीले नेपाल मेडिसिटी अस्पातलकी पोषणविद् रुजु खड्कासँग गरेको कुराकानीका केही अंश ।
मकर संक्रान्तिमा घ्यू, चाकु, तरुल, तिलको लड्डु खानुका फाइदाहरु
माघे संक्रान्तिमा खाइने यी खानेकुरा स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । घ्यू, चाकु, तरुल, तिलको लड्डु जस्ता खानेकुरामा आइरन, फाइबर, क्याल्सियम, कार्बोहाइड्रेटको मात्रा प्रशस्त हुन्छ । कम फ्याट हुने हुँदा यसले फाइदा गर्छ । यस्ता परिकार खाँदा हाम्रो पाचन प्रणालीलाई सहज बनाउँछ ।
अझ तिलको लड्डुमा राम्रो फ्याट हुने हुँदा यसको प्रयोग फाइदाजनक छ ।
चाकुमा आइरन क्याल्सियम पर्याप्त मात्रामा रहेका हुन्छन् । यसले हाम्रो शरीरमा हेमोग्लोबीन बढाउन मद्दत गर्छ ।
जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बनाइराख्न हाम्रो शरीरमा ऊर्जा शक्तिको मात्रा उच्च हुनुपर्ने भएकाले घ्यूले प्रशस्त मात्रामा ऊर्जा प्रदान गर्छ । तर, यसलाई मात्रा मिलाएर खानुपर्छ ।
कसरी खाने त ?
माघे संक्रान्तिमा खाइने खानेकुराहरुले हाम्रो शरीरमा भरपुर मात्रामा ऊर्जा प्रदान गर्छ । चाडबाडमा यस्ता खानेकुराहरु एक दिन खाँदा खासै धेरै फरक पर्दैन । तर, लामो समयसम्म वा दिनहुँ खाँदा भने यसको मात्रा मिलाएर मात्रै खानु पर्छ । हरेक चिजको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । त्यस्तै यस्ता खाना पनि मिलाएर खाएमा यसले शरीरलाई फाइदा पुर्याउँछ ।
घ्यू, चाकु, तरुल, तिलको लड्डु जस्ता खानेकुरा खाँदा उमेरअनुसार मात्रा मिलाएर मात्रै खानुपर्छ । यी सबै थोरैथोरै खाँदा फाइदा नै मिल्छ ।
घ्यू चाकु माघे संक्रान्तिमा मात्रै होइन चिसो मौसममा थोरै थोरै मात्रा मिलाएर रेगुलर खाने हो भने यसले शरीरमा ऊर्जा भर्ने काम गर्छ ।
कस्ता व्यक्तिले खाने र कस्ताले नखाने ?
डाइबेटिज, कोलेस्ट्रोल, अत्याधिक मोटोपन भएका व्यक्तिहरुले यी खाने कुराहरु खानु हुँदैन । कोही व्यक्तिको यदि दाँतमा समस्या छ भने पनि यस्ता खानेकुरा खानबाट बच्नुपर्छ ।
कतिपयमा ग्यास्ट्रिकको समस्या हुन्छ त्यस्ता व्यक्तिले तिलको लड्डु खाँदा पनि ग्यास्ट्रिकको समस्या बढ्न सक्छ । यस्ता समस्या भएका व्यक्तिमा यी खानेकुराहरुले तत्काल समस्या नदेखिए पनि दीर्घकालमा भने समस्या निम्त्याउन सक्छ । स्वस्थ्य व्यक्तिहरुले भने यस्ता खानेकुरा खाँदा फाइदा मिल्छ ।
एकैपटक बनाएर लामो समयसम्म राखेर खानुभन्दा तत्काल बनाएर खाएको राम्रो
सबै खानेकुराहरुको आफ्नै आयु हुन्छ । माघे संक्रन्तिमा खाइने खानेकुराहरुको पनि आफ्नै आयु हुने हुँदा मिति हेरेर मात्र खानु पर्छ । चाकु, लड्डु र घ्यूहरु उत्पादनको लामो समयसम्म पनि राख्न सकिन्छ तर तरुल सखरखण्डालाई एक दिन भन्दा धेरै राखेर खानु मिल्दैन । ताजा बनाएर खाने हो भने यी खानेकुरा पौष्टिक आहारले भरिपूर्ण हुन्छन् । सबैले आफ्नो उमेर, रोगअनुसार मिलाएर खाँदा यसका फाइदा धेरै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया