काठमाडौं। नागरिक लगानी कोषको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ। साधारण सभाले ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।
साधारण सभामा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ। अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९र८० मा दुई खर्ब दुई अर्ब सात करोड संकलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको बताए।
त्यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को असोजसम्म संकलित गरेको दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ। कोषले गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब सात करोड ६४ लाख कुल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाएर करपछिको खुद मुनाफा एक अर्ब १५ करोड ८७ लाख रहेको छ।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए।
हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले शेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांश दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया