कक्फेक्वा तङ्नाम मनाउँदै लिम्बू समुदाय

लोकपथ
42
Shares

काठमाडौं । लिम्बू समुदायले आज परम्परागत चाड कक्फेक्वा तङ्नाम मनाइरहेका छन् । माघे सङ्क्रान्तिलाई लिम्बू समुदायले कक्फेक्वा तङ्नामका रुपमा परम्परागत संस्कारअनुसार विशेष महत्वका साथ मनाउने गर्छन् ।  

लिम्बू भाषामा ‘कक्’ को अर्थ चाप ‘फेक्वा’ फुल्नु र ‘तङ्नाम’ को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्ष सुरु हुने गर्छ । यस वर्षबाट येले तङ्बे (दोङ) ५०८५ प्रारम्भ भएको लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए । 

राई, लिम्बू, याक्खा, सुनवारलगायत समुदायले विशेषगरी मनाउने यो चाडमा वन तरुल, घर तरुल, सक्खरखण्डजस्ता परिकार खाने प्रचलन छ । याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोका अनुसार यो चाडको मुन्धुमसँग सम्बन्ध छ । किंवदन्तीअनुसार, अन्नबाली नहुँदा वन तरुल सेवन गरी जीवन बचाएको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।  

बिहान स्नान गरेर वन तरुलको टीका लगाउने परम्पराबाट चाडको शुभारम्भ हुन्छ । यस अवसरमा समुदायले आफ्ना सांस्कृतिक परम्परालाई पुनर्जीवित गर्दै सामूहिक रुपमा चाड मनाउने गर्छन् । कक्फेक्वा तङ्नाम  लिम्बू समुदायको सांस्कृतिक पहिचान हो । राई, लिम्बू, याक्खा, सुनवारजस्ता किरात समुदायले यो चाडलाई आफ्नो संस्कृतिसँग जोडेर विशेष रूपमा मनाउँछन् । 

मेन्याङ्बोका अनुसार कक्फेक्वा तङ्नाम लिम्बू समुदायका लागि एकता, परम्परा, र पहिचानलाई जीवन्त राख्ने पर्व हो । प्राकृतिक र सांस्कृतिक महत्त्व बोकेको यस पर्वले भावी पुस्तामा पनि परम्परा र संस्कृतिलाई हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?