सार्वजनिक सेवा प्रशारण संस्थाहरु चाकडी गर्न संस्थाको रुपमा विकसित भए : मन्त्री गुरुङ

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको बिगुल फुकेका सार्वजनिक सेवा प्रसारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका छन् । मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कानुनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका हुन्  ।

उनले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालीन पञ्चायतको ताबेदारी गरेको आरोप लगाए । जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको उनले बताए । मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बनेका भएपनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ती सुझावहरु कार्यान्वयन गर्न नसकिएको बताए ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रसारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरुले विश्वभरी सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताए । नेपालका प्रत्येक भूगोलमा समाचार सेवा पुर्‍याउन सके मात्र ठूलो उपलब्धी मान्नुपर्ने उनको भनाइ छ । 

नेपालभित्रका सम्पूर्ण घरहरुभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक प्रसारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?