काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले समितिमा छलफल भइरहेका विधेयकलाई अध्यादेशमार्फत ल्याएर सरकारले संसद्को मान हानी गरेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो आरोप लगाएका हुन् । उनले अर्थ समितिको बैठकको सुरुमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७६ संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत भएर समितिमा हुँदाहुँदै सरकारले अध्यादेश ल्याएकोमा आपत्ति जनाए ।
उनले समिति बैठकको कार्यसूचिमा वितरण गरेर अहिलेसम्म फिर्ता नभएको अवस्था अध्यादेश मार्फत विधेयक ल्याउनु राम्रो नभएको बताए । उनले सरकारले फिर्ता लिने प्रक्रियाहरू समेत मिचेर अध्यादेश जारी गरेको आरोप लगाए । उनले समितिमा छलफलमा भएका विधेयक अध्यादेशमार्फत ल्याउनु संवैधानिक व्यवस्था विपरीत भएको दाबी गरे ।
उनले सरकारले संसद्को मान हानी र कार्यक्षेत्र माथि हस्तक्षेप गरेको उल्लेख गरे । उनले अध्यादेशमार्फत विधेयक ल्याएका संसद् छल्ने काम सरकार वा कार्यकारीको बलमिच्याँइ भएको बताए । उनले अध्यादेशको विषयमा समिति सभापति सन्तोष चालिसे समक्ष ध्यानाकर्षण गराए । उनले अध्यादेशको विषयमा समिति सभापति र सभामुखले केही बोल्न आवश्यक रहेको बताए ।
उनले शक्ति सन्तुलनको सिद्धान्त विपरीत सरकारले अध्यादेश जारी गर्न नहुने बताए । उनले सरकारले जनप्रतिनिधिलाई हेप्ने खालको काम गरेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया