दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न कांग्रेसको माग

लोकपथ
140
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ ।

बुधबार अपरान्ह त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं बाहिर आक्रमण भएको थियो । सहकारी पीडितको पक्षमा बहस गरेर बाहिर निस्किएका त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरुले आक्रमण गरेका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कानुनी राज्य र न्यायालयप्रति विश्वास राख्ने राजनीतिक दलका लागि त्यस्ता किसिमका अराजकता र अवांछित गतिविधि स्वीकार्य नहुने बताएका छन् ।

‘…विधिको शासन, कानुनी राज्य र न्यायालयप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ । यस्ता घटनामा संलग्न जो कसैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा हुनुअघि रास्वपाका कार्यकर्ताहरु ठूलो मात्रामा जिल्ला अदालतअघि भेला भएका थिए । लामिछानेको विपक्षमा बहस गरेका त्रिपाठीमाथि आक्रमण गरिएको विषयमा चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?