काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) इन्जिनियर किशोर प्रधानलाई अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन महानगरीय सशस्त्र प्रहरी कार्यालयका नाममा एआईजीको एउटा दरबन्दी थपका लागि गृहकार्य अघि बढाएको छ ।
मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा एआईजीको दरबन्दी थप गर्ने. प्रयास असफल भएपछि महानगरीय सशस्त्र प्रहरी कार्यालयका नाममा एआईजीको दरबन्दी थपका लागि गृहकार्य अघि बढाएको हो ।
आगामी माघ २२ गते डीआईजीको चार जोड एक पदावधिका कारण अनिवार्य अवकाशमा जान लागेका प्राविधिक पृष्ठभूमिका प्रधानलाई दरबन्दी नै थप गरेर एआईजी बनाउन शक्तिकेन्द्रको समेत ब्यापक दबाब रहेको स्रोतको भनाइ छ । कांग्रेस पृष्ठभूमिका प्रधानको अवकाशको मिति दिन प्रतिदिन घर्किँदै गएकाले शक्तिकेन्द्रले एआईजीको संख्या चाँडो थप्न दबाब दिएको पनि स्रोतको भनाइ छ ।
सशस्त्र प्रहरीमा हाल एआईजी प्रमुख हुने मानवस्रोत, कार्य र सीमा गरी तीन वटा विभाग छन् ।
स्मरणीय के छ भने हालका प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला महानगरीय सशस्त्र प्रहरीको एआईजीको दरबन्दी खारेज गरिएको थियो । त्यसबेला महानगरीय सशस्त्र प्रहरी प्रमुखमा एआईजी नारायणबाबु थापा थिए । दरबन्दी नै खारेज भएपछि सो कार्यालयलाई पशुपति बाहिनी नामांकरण गरिएको थियो । बाहिनीको प्रमुखमा डीआईजी रहने व्यवस्थाबमोजिम त्यसबेला खड्गबहादुर राईलाई पशुपति बाहिनीको बाहिनीपति बनाएर पठाइएको थियो । अहिले सो बाहिनीलाई नम्बर ९ बाहिनी भनेर चिनिन्छ । सो बाहिनीको बाहिनीपतिमा अहिले यिनै प्रधान रहेका छन् ।
नेपाल प्रहरीमा २०५५ साल मंसिर ८ गते प्राविधिक प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरी बल स्थापना भएलगत्तै एक तह बढुवा (डीएसपी) भएर सशस्त्रमा स्थानान्तरण भएका थिए । सेवा प्रवेश गरेको छोटो समयमै डीएसपी बन्न सफल भएका उनी अहिले कांग्रेस सम्मिलित एमाले नेतृत्वको सरकारमा दरबन्दी नै थप गरेर एआईजी बन्न जोडबल गरिरहेका छन् ।
नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकमा भर्ना भएकाले इन्फेन्ट्रीमा हुनुपर्ने गुणहरु उनमा नभएको उनलाई नजिकबाट चिन्ने जान्नहेरु बताउँछन् । प्राविधिक प्रहरी निरीक्षकमा भर्ना र त्यसलगत्तै सशस्त्रमा डीएसपीका रुपमा स्थानान्तर भई आएकाले उनले इन्फेन्ट्रीले गर्नुपर्ने बेसिक तालिमसमेत लिएका छैनन् । डीएसपी भएका अधिकृतहरुलाई इन्सपेक्टरको बेसिक तालिम दिने चलन नभएकाले उनमा आधारभूत सुरक्षासम्बन्धी ज्ञानको प्रशस्त अभाव देखिने गरेको सशस्त्र प्रहरी अधिकृतहरुमाझ चर्चा चल्ने गर्छ ।
तालिमको अभावमा आधारभूत सुरक्षासम्बन्धी ज्ञान नभएकाले उनीबाट हुने गरेका कार्यसम्पादनमा यसको असर प्रशस्त देखिने गरेको पनि सशस्त्र प्रहरी अधिकृतहरुमाझ चर्चा चल्ने गर्छ ।
जस्तो कि, सुरक्षाका हिसावले अति सम्वेदनशील मानिएको काठमाडौं उपत्यकामा २४सै घण्टा परिचालित हुनु पर्ने उनी बाहिनीपति रहेको ९ बाहिनी अन्तर्गतको मातहत गण/गुल्मका सुरक्षाकर्मीलाई उनले बेमौसमी तरकारी खेती तालिममा लगाइरहेका छन् । यसका अलावा सशस्त्र प्रहरी कर्मचारीहरुलाई उनले नाच टोलीमा केन्द्रित गराइरहेका छन् ।
उनको गैरव्यावसायिक हर्कत यतिसम्म बढेको छ कि, बाहिनीको कार्यालयबाहिर ढोकेका रुपमा उनले महिला सशस्त्र प्रहरी कर्मचारी राख्ने गरेका छन् । सामान्यतः ढोकेका रुपमा महिला सुरक्षाकर्मी राखिँदैन ।
सशस्त्र प्रहरीका डीआईजी इन्जिनियर प्रधान नम्बर ९ बाहिनीको बाहिनीपति भएर आएपछि उनले आफ्नो ध्यान जसरी पनि रकम असुल्नुमै बढी केन्द्रित गरिरहेका छन् । आफूमातहतका गण र गुुल्मका प्रमुखहरुलाई मासिक रकम नै आफूलाई बुझाउन उनले निर्देशन दिएका छन् । यतिसम्म कि, आफू मातहतका गण र गुल्मका प्रमुखहरुलाई विश्वास नगरी छड्केका नाममा उनले बाहिनीबाटै अधिकृतहरु खटाइ कर्मचारीहरुको हाजिरमा मात्र चासो दिने गरेका छन् ।
यस्तै, लियाजन अधिकृतको निहुँमा दरबन्दीभन्दा दुई गुणा बढी सशस्त्र प्रहरी कर्मचारी थुपारी दैनिक सयौंलाई बिदा छोड्ने काम पनि उनले गरिरहेका छन् । यसबाट उनलाई जवान÷हबल्दारले पाउने राशनको रकममा राम्रै लाभ प्राप्त हुने गर्छ आफूलाई भेट्न आउने आफू मातहतका एसपी, एसएसपीलाई पनि उनी घन्टौं कुराउने गर्छन् ।
फौजी आचरणविपरीतका उनका गतिविधिको सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा रिपोर्ट गर्ने गणपति र गुल्मपतिलाई उल्टै सरुवा गरिदिने धम्कीसमेत उनले दिने गरेका छन् ।
स्मरण रहोस्, प्राविधिक पृष्ठभूमिका डीआईजी प्रधान तिनै पात्र हुन् जसले गृह मन्त्रालयद्वारा गठित बलम्बुस्थित भण्डारको स्टोर आगलागी छानविन समितिको सदस्य रहेर उक्त भीषण आगलागी जस्तो प्राकृतिक प्रकोपलाई भवितब्य भनी स्पष्ट रुपमा अडान राख्न नसक्दा त्यसको मार अहिले सिंगो सशस्त्र प्रहरीले भोग्नु परिरहेको छ । आगलागी भएलगत्तै आफ्नो जिम्मेवारी निर्वाह गर्न गएका बाहिनीका ड्युटीवाला कर्मचारीहरु कारवाही पर्नु, स्विकृत बिदामा भएको भण्डारको सई असईमा घटुवा हुनु, जलेका सामानहरुको मिनाहा तथा ठेकेदारहरु मुद्धामा जानाले प्रकृया थप पेचिलो बन्नु भनेको यो सबैको कारक नै उनको प्राविधिक भर्ना पृष्ठभूमि नै हो ।
सशस्त्र प्रहरीलाई राज्यले दिएको टास्कभन्दा तरकारी खेती तालिम, नाच टोली थुपार्नमा रमाउने स्वभावका इन्जिनियर प्रधानलाई संगठनले काखी च्याप्नु अस्वभाविक समेत देखिएको सशस्त्रमा चर्चा चल्ने गर्छ ।
यसअघि प्रकाशित यो पनि
ओली सरकारले यसरी बढायो सशस्त्रमा गैरव्यवसायिक खिचातानी
सशस्त्रमा ‘यूएन मिसन उत्कृष्ट कर्मचारी छनौट’मा चरम बदमासी
स्पष्टीकरणका लागि प्रधान कार्यालय बोलाइएका सशस्त्रका एसपीहरुलाई यो शर्तमा जान दिइयो
डीआईजी नै ठगिए, डिजेल मिसिएको पेट्रोल पनि जानाजानी बिक्री
सशस्त्रका एसपी डाँगीले बाँकेमा केसम्म गरेनन् ?
सशस्त्रमा चार डीआईजीको म्याद थप्ने र रोक्ने खेलमा कसले मार्ला बाजी ?
सशस्त्रको वार्षिकोत्सवको मुखैमा मधेस प्रदेशका बाहिनीपति डीआईजी धौबजीमाथि मुख्यालयको ‘एक्सन’
सशस्त्र प्रहरीमा ‘ज्वाइँ’ को जहिले पनि रजगज
प्रहरी विधेयकमा गृहमन्त्री लेखकको मनमौजी, सुझाव बेवास्ता गरिएको भन्दै दुवै संगठनमा असन्तुष्टि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया