काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा सामेल मन्त्रीहरुको कामबारे ‘ब्रिफिङ’ लिएका छन् ।
बिहीबार बिहानैबाट शीर्ष नेताहरुसहित आफ्नो निजी निवास बूढानिलकण्ठमा देउवाले मन्त्रीहरुको ब्रिफिङ लिएका हुन् ।
सो क्रममा कतिपय मन्त्रीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा काम गर्न असहज रहेको बताए ।
बैठकबाट बाहिर निस्किँदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रीहरुले सोचेअनुसार काम गर्न अप्ठेरो भएको बताएको जानकारी दिए ।
‘सिधै अप्ठ्यारो भएको जस्तो लाग्दैन । तर सोचे अनुसारको काममा जति चाँडो हुनुपर्ने जति अगाडि बढ्नुपर्ने त्यो कुरा कहीँ न कँहीबाट समस्या भएको महसुस गरेका छन्‚’ मन्त्री चौधरीले भने‚ ‘तर‚ हाम्रा नेताहरू मिलेर त्यसलाई समाधान गर्ने उपायहरू बताइरहनुभएको छ ।’
त्यस्तै अध्यादेशको विषयमा समेत कुराकानी भएको उनले बताए । दुवै महामन्त्रीहरुले अध्यादेश दुवै पक्षबीच छलफल गरेर ल्याएको भन्दै त्यसलाई धेरै चर्चा गर्न उचित नरहेको बताएको उनले बताए । अहिले पनि बूढानिलकण्ठमा देउवाले मन्त्रीहरुसँग ब्रिफिङ लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया