काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् ।
बिहीबार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पुर्याइसक्ने घोषणा समेत गरे । उनले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताए ।
मन्त्री यादवले सरकार जनताका आधारभुत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताए ।
उनले भने, ‘खानेपानीको क्षेत्रमा हामी काम गरिरहेका छौँ । हिजो कसले के काम गर्नुभयो त्यो अलग पाटो हो । तर अब जुन हाम्रो काम हुन्छ । त्यो सबै कामहरु प्रभावकारी रुपमा अगाडि बढ्छ । नेपाल विपद्को जोखिममा रहेको देश भएको हुनाले त्यस अनुसारको डिजाइन होस् भन्ने मैले सोच राखेको छु । त्यसैअनुसार हाम्रो काम पनि अगाडि बढिरहेको छ । अहिले खानेपानीको क्षेत्रमा ठूलो चुनौतिको पनि सामना गर्नुपरेको छ । अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभुत खानेपानी सेवा पु¥याएका छौं । अहिले पनि दुई प्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउन सकेका छैनौं । त्यसको लागि हामी निरन्तर लागिपरेका छौं । मलाई विश्वास छ एक वर्षभित्रमा सयप्रतिशत जनतामा आधारभुत खानेपानी पुर्याउँछौं । यो मेरो प्रतिवद्धता पनि छ । अर्को कुरा हामी २७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानी दिइरहेका छौँ । यो पर्याप्त छैन । यसले जनता बिरामी हुने तथा प्रकोपहरु फैलिने खतरा छ । त्यसकारणले गर्दा ५७ प्रतिशत पुर्याउनका लागि हामी लागिपरेका छौं । यो अठोट लिएर म अघि बढेको छु ।’
उनले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया