पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

लोकपथ
56
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

समयमा पक्षघातको उपचार नहु्ँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सय जनाले ज्यान गुमाउँदै आएका छन् ।

‘उपचार गर्न सकिने भएपनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको फायौँ’, पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधी प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’

उनका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गइरहेको पक्षाघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । सहजै उपलब्ध नहुने भएकाले औषधी नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधीको प्राप्ति र सहज उपलब्ध गराउन पहल गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबिच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षाघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्त्वपूर्ण भएको न्यूरो चिकित्सक डा। राजु पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?