कागबेनी-छुसाङखण्ड कालोपत्रे गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । भारत र चीन जोड्ने राष्ट्रिय गौरवअन्तर्गत कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी-छुसाङखण्ड कालोपत्रेका लागि ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ कागबेनीदेखि वडा नं ३ छुसाङखण्डको १० किलोमिटर कालोपत्रे गर्न बहुवर्षीय ठेक्का लगाउन ५० करोड बजेटको स्रोत सुनिश्चितता गरेको मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले बताए ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १० किलोमिटरका लागि बहुुवर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चितता गरेको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले चालु आव भित्रनै ठेक्का सम्झौता गर्ने लक्ष्यसहित ठेक्का आह्वानको तयारी गरिएको बताए । कम्तीमा ११ मिटर फराकिलो हुने दुई लेनको सडकमा अक्सफाल्ट प्रविधिको कालोपत्रे गरिनेछ । 

आयोजनामार्फत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि चीनको सिमाना कोरला नाकासम्म दुई सय दुई किलोमिटर दूरीमा स्तरोन्नतिको काम भइरहेको छ । विसं २०७४ मा सुरु भएको योजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ । 

१० अर्ब लागत अनुमान गरिएको उक्त सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । एक सय पाँच किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्रे, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?