निर्माण व्यवसायीहरूले भौतिक मन्त्री दाहाललाई बुझाए ज्ञापन पत्र 

लोकपथ
35
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरूका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । 

निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरूले मूल्य वृद्धि गरेको तथा भुक्तानी अभाव, र सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताए । 

उनले निर्माण व्यवसायीहरूका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको समेत बताए । उनले प्रधानमन्त्री, विकास मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षहरूलाई माग पूरा गर्न १५ दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने बताए । उनले व्यवसायीका माग सम्बोधन नभए महासंघले आगामी माघ १८ गते काठमाडौंको माइतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरिसकेको बताए । 

यसअघि महासंघ बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना मागहरू पूरा नभए माघ २० गते प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिने बताएका थिए । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी पश्चिम नाका ठप्प पार्ने चेतावनी दिए।  

उनले त्यसपछि पनि सरकारले व्यवसायीहरूका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गरिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?