काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरर्णे गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो ।
आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्नेछ । चेम्बरले यसका लागि आईटी उद्यमीहरूसँग एक चरण छलफल समेत गरिसकेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागी आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए । उनले भने, ‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण श्रोत अव आइटी उद्योग हो, सरकारले पनि आगामी १ दशकमा वार्षिक ३० खर्व भित्र्याउने लक्ष्य सहित कार्य योजना तय गरेको छ । सूचना प्रविधि उद्योगको विकासका लागि लगानी जुटाउने देखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्नेछ ।’
सर्वसाधारणको लगानी जुटाएर आईटी उद्योगको स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाई छ । अन्तर्राष्ट्रिय आईटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रूपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसरको खोजी गरिनुपर्ने उनले बताए । नेपालका युवाहरूलाई आईटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्ने समेत अध्यक्ष अग्रवालले बताए । चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पब्लिक प्राइभेट पार्टनर सिपको अवधारणामा कम्पनी खडा गरेर आइटी उद्योगको विकासमा लाग्नुपर्ने बताए । अन्तर्राष्ट्रिय ठूला ठूला कम्पनीको व्याकअपका रूपमा स्वदेशमै बसेर काम गर्न सकिने निवर्तमान अध्यक्ष मल्लको भनाई छ । चेम्बरको आइटी सफ्टवेयर एण्ड टेक्नोलोजी कमिटीका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकास र विस्तारका लागि सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया