विपक्षी दलको निर्णय : संसद् नबोलाए विशेष अधिवेशन माग, त्यो पनि नभए कडा प्रतिरोध

लोकपथ
84
Shares

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न विपक्षी ७ राजनीतिक दलहरुले अबिलम्ब संसद् बोलाउन माग गरेका छन् । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त बक्तव्य जारी गर्दै नियमित रुपमा संसद् अधिवेशन नबोलाइए विशेष अधिवेशन आह्वान गर्न माग गर्ने जानकारी गराइएको छ ।

बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सत्ता टिकाउनका लागि राज्यका निकायहरुलाई आफू अनुकूल प्रयोग गरिरहेको आरोप लगाए । त्यस्तै बहुमतका भरमा सरकारले अल्पमतको कदर नगरेको समेत विपक्षी दलको आरोप रहेको छ ।

‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा संघर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ,’ जारी संयुक्त बक्तव्यमा भनिएको छ ।

त्यस्तै विपक्षी दलहरुले विभिन्न ५ बुँदामा सरकारको ६ महिनाको अवधिको समीक्षासहित विभिन्न आरोप समेत लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?