‘विपद्काे पूर्व तयारी गर्दा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’

लोकपथ
21
Shares

काठमाडौं । विपद् पूर्व तयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विपद्पछि विभिन्न रोगहरू फैलिन सक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले विपद्का लागि पूर्व तयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । 

बाढी, पहिरो, भूकम्प लगायतका विपद्पछि विभिन्न खालका रोगहरू फैलिन सक्ने भएकाले समयमै ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ । केही वर्षदेखि विपद्पछिको स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी स्टार्ट फण्ड नेपालकी कार्यक्रम व्यवस्थापक प्रमिला सुवेदीले सरकारले विपद् पूर्व तयारीमा स्वास्थ्यलाई पनि सँगै लैजानुपर्ने आवश्यकता रहेको बताइन् । 

विपद्का बेलामा स्वास्थ्यलाई पनि प्राथमिकता दिनसके विपद्पछि फैलिन सक्ने रोगहरूबाट हुने क्षति कम गर्न सकिने उनको भनाइ छ  ।  स्टार्ट फण्ड नेपालले २०२१ देखि विभिन्न प्रकोपको पूर्वानुमानमा आधारित भई पूर्वकार्य र प्रतिकार्य गर्दै आएको छ । जसमा स्वास्थ्य क्षेत्रमा पनि केही कामहरू गरेको उनले बताइन् । 

डेंगुपश्चातको प्रतिकार्य लगायतका विपद्पछिको स्वास्थ्यका क्षेत्रमा पनि काम गरिसकेको बताइन् । स्टार्ट नेटवर्कको फरवार्नमार्फत स्टार्ट फण्डले आयोजना गरेको कार्यक्रममा ३० वटा संस्थाबाट ४० जनाले प्रतिनिधिले भाग लिएका थिए । 

यता, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्शनका कार्यकारी निर्देशक सुरज गौतमले नेपाल बहुप्रकोपिय जोखिममा रहेको भन्दै पछिल्लो समय विभिन्न प्रकोपहरू विपद्मा परिणत भइरहेको बताए । उनले बाढी, पहिरो लगायतका विपद्जन्य घटनाहरूको पूर्व तयारी गर्दा स्वास्थ्यको तयारी पनि गर्नुपर्ने बताए । उनले विपद्पछि फैलिन सक्ने रोगहरूको न्यूनीकरण गर्न स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए । 

कार्यकारी निर्देशक गौतमले जलवायु परिवर्तनका कारण तराईमा मात्रै सीमित हुने रोगहरू बिस्तारै पहाड र हिमालतिर पुगिरहेको अवस्थालाई मध्यनजर गरेर सरकारले आफ्ना योजनाहरू अघि बढाउन जरुरी रहेको बताए । विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानसके रोगबाट नागरिकलाई सुरक्षित राख्न सकिने उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?