काभ्रेपलाञ्चोकको पाँचखालमा ७ सयको आँखा परीक्षण

लोकपथ
42
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविरअन्तर्गत सातसय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । 

नगरले बिहीबारदेखि स्थानीय आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्त रूपमा नगरको ११ वटा वडामा चार दिनसम्म मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । 

शिविरबाट सातसयभन्दा बढीको आँखा परीक्षण गर्दा एक सय ५० जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको संस्थाले जनाएको छ । शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा आँखाका बिरामीको शल्यक्रिया सुरु गरिएको संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले बताए । 

‘आजदेखि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेका छौँ, ‘उनले भने । शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि सामग्री एवं औषधिको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । 

शिविरका लागि मातृका आइ सेन्टरले प्राविधिक सहयोग गरेको थियो । चार दिने शिविरअन्तर्गत पाँचखालको विभिन्न ११ स्थानमा शिविर सञ्चालन गर्दा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको हो । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताए । साथै पनौती नगरको वडा नं ७ स्थित स्वास्थ्य चौकीमा आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?