काठमाडौं । तोकिएका सर्तको पालना गर्दै कानुनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायहरूले बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरूले कानुनभित्र रहेर गरिएका व्यापार व्यवसायमा अवरोध गर्ने अधिकार कसैको नरहेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले व्यवसायीहरूले व्यावसायिक सुरक्षा र चुनौतीका विषयहरू के छन् भन्ने सन्दर्भमा छलफल चलाउन जरुरी रहेको बताए । छलफलले व्यवसाय गिर्दाखेरिका चुनौती, व्यावसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरू स्पष्ट हुने बताए ।
कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा कतैपनि दर्ता नभई र गुणस्तरको बारेमा कहीँ पनि परीक्षण नगरी विक्री वितरण गर्नेहरूमाथि सरकारले कडा कारबाही गर्ने बताए । उनले विभागले उनीहरूको सामान जफत गर्नेदेखि जरिवाना तिराउनेसम्मको निर्णय लिनसक्ने बताए । उनले विधिवत् ढंगले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचेको खण्डमा पनि कारबाही, जफत वा कुनै प्रकारका दण्ड जरिवाना गर्न नसक्ने बताए ।
त्यस्तै,कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु रहेको बताए । उनले खाद्य वस्तुमा कुनै पनि प्रकारको सम्झौता नगरिने बताए । उनले स्वास्थ्यमाथिको खेलबाड गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । कुनै पनि वस्तु उत्पादन गरिसकेपछि कानुनी संरचनासँगै भौतिक संरचना र प्रविधिको प्रयोग अनिवार्य रहेकाले सरकारले सोहीअनुसार काम गरिरहेको बताए ।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारी निकायहरूले व्यवसाय दर्ता र अनुगमनलाई सहज बनाइदिनुपर्ने बताए । व्यवसायीहरूले पनि पारदर्शी हिसाबले काम गर्नुपर्नेमा जोड दिए । उनले गलत ढंगले नाफा कमाउन खोज्नेहरूलाई भने कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया