कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निर्माणाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गरेका छन् । ‘भेरियेसन’ का कारण पुल निर्माण प्रभावित भएपछि आज मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गरेका हुन् ।
पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’(बाँध)को परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि भेरिएसन नभएकाले पुलसँगै बन्ने अन्य संरचनाको काम रोकिएको छ । गत भदौमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो ।
सोही कारणले महाकाली नदीमा बनेको चारलेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्रीद्वय स्थलगत अवलोकनका लागि महेन्द्रनगर पुगेका हुन् ।
पुलको अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताए। ‘पुलको पारि दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्ण हुने अन्तिम चरणमा छ, यो पुल सफल भएन भने सुक्खा बन्दरगाहसमेत सफल हुँदैन, ‘उनले भने, ‘चाँडोभन्दा चाँडो यो समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएका हौँ ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया