काठमाडौं । इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच भइरहेको तनावका बीच आजबाट युद्धबिराम सुरु भएको छ ।
कतार, अमेरिका लगायतका देशहरुको समन्वयमा भएको युद्धबिराम आजबाट केही हप्ताका लागि हुनेछ । युद्धबिराममा हमासको बन्धक बनेका ३३ जनालाई छाडिने बताइएको छ । त्यस्तै हमास समूहको अपरणमा परेका नेपाली विपिन जोशी समेत सोही समूहमा रिहाइ हुने अपेक्षा गरिएको छ ।
२०२३ को अक्टोबर ७ अर्थात् नेपाली मिति अनुसार २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो ।
गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका थिए । यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थी सहित करिब एक हजार २०० व्यक्तिको ज्यान गएको थियो । इजरायल र हमासबीच सन् २००८ यता यो पाँचौं भीषण युद्ध हो ।
सन् १९४८ मा इजरायल स्थापना भएयता इजरायलमाथि यति ठूलो हमला कहिल्यै भएको थिएन । हमासका लडाकूले किब्बुजका घरघरमा प्रवेश गरेर बुढाबुढी, केटाकेटी, युवा जोकोहीलाई निर्ममतापूर्वक हत्या गरेका थिए भने घरबस्तीलाई खण्डहरमा परिणत गरिदिएका थिए ।
यतिमात्र होइन, उनीहरुले २५१ जना बालबालिका, वृद्ध र युवालाई अपहरण गरेर गाजा लगेका थिए । गाजामा नाकाबन्दी गरेको, अल–अक्सा मस्जिदमा कारबाही गरेको, गाजा र पश्चिम किनारामा जबर्जस्ती बस्ती बिस्तार गरेको बदलामा इजरायलमाथि आक्रमण गर्नुपरेको हमासले बताउँदै आएको छ ।
यो घटनाबाट आहत भएको इजरायलले हमास विरुद्ध अक्टोबर २७ देखि भिषण स्थल सैन्य र हवाई कारबाही थालेको थियो । हमासलाई समुल नष्ट गर्ने र बन्धकहरुलाई मुक्त गर्ने अभियानमा लागेको इजरायललाई संयुक्तराज्य अमेरिका सहित पश्चिमा देशहरुले आर्थिक, सैनिक, राजनैतिक समेत सबै किसिमका सहायता र आडभरोसा दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको सरकारले हमास बिरुद्ध थालेको सैन्य कारबाहीले हमासले गरेको आक्रमणलाई पनि बिर्साइदिएको छ ।
अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटका अनुसार, इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यद्यपि यो संख्याका बारेमा फरक फरक विवरणहरु आइरहेका छन् ।
हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ ।मारिएका मध्ये आधाभन्दा बढी महिला र बालबालिका छन् ।
एक लाख बढी प्यालेस्टिनी अङ्गभङ्ग भएका छन् । मानवीय सङ्कटको चरम स्थितिमा पुगेपनि इजरायली आक्रमण निरन्तर जारी रहेको थियो । गाजाका करिब २३ लाख सर्वसाधारण आफ्ना घर छाडेर टेन्टमा कष्टकर जीवन जिउन बाध्य छन् ।
उनीहरुका ९० प्रतिशत घर इजरायली बमबारीबाट क्षतिग्रस्त भएको सञ्चार माध्यमहरुले बताएका छन् । युद्धको यस विभिषिकाबाट बच्ने कुनै आशा छाडेका उनीहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष अनेक हारगुहार गरिरहे । गाजाका अधिकांश घरहरु भग्नावशेषमा परिणत भएका छन्, सडकहरु ट्याँक र बमबारीबाट क्षतिबिक्षत छन्, विद्यालय र अस्पताल कुनै बाँकी छैनन् ।
एक किसिमले गाजामा जातीय सफाया गर्न चाहेको आरोप इजरायलले खेपेको छ, र अन्तर्राष्ट्रिय न्यायालयले इजरायली प्रधानमन्त्री र हमास नेतृत्वमाथि युद्ध अपराधको मुद्दा चलाएको छ ।
इजरायलले हमासका नेताहरुलाई पनि गाजा र अन्यत्र छानीछानी हत्या गरिदिएको छ । यसक्रममा २०२४ अक्टोबर १६ मा हमासका नेता याया सिनवार इजरायली स्थल सेनाको कारबाहीमा मारिएका थिए भने अर्का बरिष्ट नेता इस्माइल हनिएको इरान भ्रमणका क्रममा हत्या भएको थियो ।
लेबनान र इरानमाथि आक्रमण
गाजामा सक्रिय हमास समूहलाई समर्थन गरेको आरोप लगाउँदै इजरायलले २०२४ सेप्टेम्बर २३ देखि लेबनानको दक्षिणी र राजधानी बेरुतका कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित हेज्बोल्लाह लक्षित स्थल र हवाई आक्रमण गरेको थियो । यसक्रममा आठसय भन्दा बढी सर्वसाधारणका साथै ठूलो संख्यामा हेज्बोल्लाह समूहका सदस्यहरु मारिए । हेज्बोल्लाहका नेता हसन नसरल्ला, इब्राहिम अकिल समेत यस समूहका कैयौँ बरिष्ठ सदस्यहरुको पनि ज्यान गएको थियो ।
झण्डै तीन महिनाको सैनिक कारबाही पछि हेज्बोल्लाह र इजरायली सरकारबीच नोभेम्बर २७ मा युद्धबिराम भएको थियो । यसक्रममा हेज्बोल्लाहले पनि इजरायली सहरहरुमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेर इजरायलमाथि दबाब सिर्जना गरेका थिए । तथापि, इजरायलको सैन्य सामथ्र्य अघिल्तिर हेज्बोल्लाह टिक्न सकेको थिएन ।
उता मध्यपूर्वमै युद्ध भड्किने आशंका निम्त्याउने गरी इरानले इजरायलमाथि २०२४ अक्टोबर १ मा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो, तर संयुक्तराज्य अमेरिकाको दबाबपछि इजरायलले तत्कालै प्रत्याक्रमण गरेको थिएन । तर इजरायल चुप लागेर बस्ने अवस्थामा थिएन, र उसले पनि इरानमा अक्टोबर २६ मा हवाई आक्रमण गरेर इरानभित्र क्षति गरेको दाबी गरेको थियो ।
युद्धबिराम, शान्तितर्फको एउटा अवसर
सन् २०२३ नोभेम्बर २४ मा कतारको मध्यस्थतामा पहिलो युद्धबिराम भएको थियो । यो युद्धबिरामलाई स्थायी बनाउने प्रयत्न हुँदाहुँदै नोभेम्बर ३० मा अर्थात् ६ दिनमा भङ्ग भएको थियो । यस अवधिमा हमास समूहले आफ्नो नियन्त्रणमा रहेका झण्डै १५० जना बन्धकलाई मुक्त गरेका थिए । तर यो युद्धबिरामलाई दिगो बनाउने प्रयास सफल भएन, र सम्पूर्ण बन्धकलाई मुक्त नगर्दासम्म युद्धबिराम नगर्ने र आक्रमण जारी राख्ने इजरायलले घोषणा गरेको थियो ।
इजरायलले गाजाबासीमाथि शक्तिको चरम दुरुपयोग गरेको भन्दै संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब सिर्जना गरे पनि इजरायली प्रधानमन्त्री टसमस भएनन् । तर अमेरिकामा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मात्र इजरायलले आफ्नो नीतिमा परिवर्तन गरी युद्धबिराममा सहमति जनाउन केही नरम भएको थियो । पछिल्लो युद्धबिराम गराउन पनि बाइडेन प्रशासनका अलावा ट्रम्पका वार्ताकारहरु कतारमा भेला भएका थिए ।
तीन चरणमा कार्यान्वयनमा ल्याइने यो युद्धबिराम प्रस्तावलाई इजरायली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । युद्धबिराम सम्झौता आज आइतबार बिहान ८:३० (इजरायली समय अनुसार) बजेदेखि सुरु हुँदैछ । युद्धबिराममा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले एक विज्ञप्ति जारी गर्दै गाजापट्टिमा २०२५ जनवरी १९ को बिहान ८:३० बजे (नेपाली समय अनुसार दिउँसो १२:१५ बजे) देखि युद्धबिराम सम्झौता लागू हुने भएकाले युद्धरत सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । युद्धबिरामको गाजाबासी र बन्धक बनाइएका परिवारले स्वागत गरिसकेका छन् ।
हाल सार्वजनिक भएको प्रस्ताव अनुसार, हमासले छ हप्ताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जना बन्धकलाई मुक्त गर्नेछ जसमा महिला, बालबालिका र वृद्धवृद्धा रहनेछन् भने यसको बदलामा इजरायलले पनि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबन्दी रिहा गर्दैछ । बिबिसीका अनुसार, इजरायलले गाजाक्षेत्रको मुख्य भूभागबाट आफ्ना सेनालाई फिर्ता ल्याउन सुरु गर्नेछ ।
विस्थापित गाजाबासीलाई आफ्ना घर फर्कन दिइने छ । गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ । इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौँ ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन् । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले गाजामा खाद्यान्न बोकेका ट्रकलाई निर्वाध र सहज प्रवेश दिन द्वन्द्वरत पक्षहरुसमक्ष आह्वान गरेको छ । ‘गाजाका २३ लाख बासिन्दा खाद्यान्नको चरम अभावमा बाँचिरहेका छन् । उनीहरुलाई जतिसक्दो चाँडो खाद्यान्न दिएर बचाउनु जरुरी छ,’ डब्ल्युएफपीले भनेको छ ।
युद्धबिरामको दोस्रो चरणमा बाँकी बन्धकलाई मुक्त गरिने छ भने गाजाबाट सबै इजरायली सैनिक फिर्ता हुनेछन् । तेस्रो चरणमा भने हमासले बन्धक बनाएका तर मृत्यु भइसकेका बन्धकलाई इजरायल फिर्ता गरिने छ भने गाजाको पुनर्निर्माण अभियान सुरु हुनेछ ।
हमास समूहलाई समेत सबै बन्धकको स्थितिका बारेमा जानकारी छैन । नेपाली विद्यार्थी बिपिन जोशी हमासको अपहरणमा परेका भए पनि अझै उनका बारेमा हमासले केही खुलाएको छैन । यद्यपी, युद्धबिरामको शर्तमै बन्धक बनाइएकाहरु सबैलाई मुक्त गर्ने भनिएकाले यसपटक बिपिन सकुशल रिहा हुने अनुमान गर्न सकिन्छ ।
पछिल्लो युद्धबिरामलाई दिगो बनाउन र गाजामा मानवीय सहायताका साथै पुनर्निर्माणका लागि के गर्ने भन्ने प्रष्ट भइसकेको छैन । गाजाको प्रशासन अब कसले सञ्चालन गर्नेछ ? हमास वा अरु कुनै निकायले ? यो प्रश्न अनुत्तरित छ, र यसमा इजरायल वा अमेरिकी प्रशासनले केही बताएका छैनन् । अतिशय दुःख व्यहोर्न बाध्य गाजाका पीडित बासिन्दा पटकपटकका यस्ता युद्ध सधैँका लागि अन्त्य भएको हेर्न चाहन्छन्, तर यसको दिगो समाधान दुई–राज्य नै हो भन्नेमा बिमति छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया