सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लामिछानेसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दा दर्ता गरिएको बताइन् ।‘संगठित रुपमा ठगीको कसुरमा मुद्दा दायर भएको छ । थप १४ सहित ४२ जना प्रतिवादी छन्,’ केसीले भनिन् ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।

अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा ९सामूहिक० २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गरिएको छ ।

त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो मागदाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?