मुकुलको एक महिना : पार्टीमा फिर्ने उत्कट चाहना, रास्वपासँग ‘आइस ब्रेक’ को प्रस्ताव

लोकपथ
497
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहालवाला महामन्त्रीसमेत रहेका पार्टी प्रवक्ता मुकुल ढकाललाई गत भदौ ११ गते निष्कासन गर्‍यो । पार्टीका नेताहरूलाई विभिन्न आरोप लगाउँदै पार्टी हितविपरीतको काम गरेको भन्दै रास्वपाले उनलाई कारबाही गरेको थियो । आफैँले बनाएको विधानबाट आफैँ कारबाही र निष्कासनसम्मको दण्ड भोगेपछि केही समय उनी पार्टीका नेताहरूसँग रुष्ट बने । पत्रकार सम्मेलन गरेर उनले सभापति रवि लामिछानेमाथि गम्भीर आरोपहरू लगाए । रास्वपा स्थापना नै आफ्नो परिकल्पना अनुसार भएको दाबी गर्ने मुकुलले रविमा सबै गल्ती अरूलाई थोपरेर आफू उम्किने प्रवृत्ति रहेको भन्दै उनको चरित्रमाथि नै प्रश्न उठाए ।

‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे, रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन । रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरूलाई थोपर्नु भयो,’ मुकुलले भनेका थिए ।

पार्टीले साधारण सदस्य समेत नराखी कारबाही गर्दा समेत आफू रास्वपाको पूर्व पदमा नै रहेको उनको दाबी हुने गरेको थियो । सबै नेताहरूमाथि कुनै न कुनै आरोप लगाएका उनको आरोपमा पार्टीले कुनै स्पष्टीकरण दिन लायक नै देखेन ।

उनले आफू बलजफती गरेर महामन्त्रीको कुर्सीमा बस्न नजाने बताउँदै रवि लामिछानेका कारण पार्टी सकिने अवस्थामा गएको चिन्ता व्यक्त गरेका थिए । साथै उनले रास्वपालाई ‘रवि क्लब’ को संज्ञा दिएका थिए ।
‘म अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन । म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन । तर रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो,’ उनले भनेका थिए ।

तर पछिल्ला दिनहरूमा मुकुल ढकाल एकाएक रास्वपाप्रति नरम देखिएका छन् । विगत केही दिनदेखिको सामाजिक सञ्जालको गतिविधि नियाल्ने हो भने रास्वपाको शुद्धीकरणमा उनले निकै शब्दहरू खर्च गरेका छन् ।

गत पुस १७ गते उनले सामाजिक सञ्जालमा लेख्दै आत्मसमीक्षा गरेका छन् । उनले सभापति लामिछाने र महामन्त्रीका हैसियतमा आफूलाई फुटाउन खोजेको आरोप लगाउँदै दोष अरूमै देखाएका छन्

गत पुस १७ गते उनले सामाजिक सञ्जालमा लेख्दै आत्मसमीक्षा गरेका छन् । उनले सभापति लामिछाने र महामन्त्रीका हैसियतमा आफूलाई फुटाउन खोजेको आरोप लगाउँदै दोष अरूमै देखाएका छन् ।

त्यस्तै उनले रास्वपालाई मर्न नदिन समेत अपिल गरेका थिए । उनले अहिलेबाटै नलाग्ने हो भने मिसन ०८४ सफल हुन नसक्ने भन्दै रास्वपाका नेताहरूलाई सचेत गराएका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउनु पर्छ । हामीले बगाएको बुद्धि, पसिना, पैसा र समयले बनाएको पार्टी हो । साना दुःखले आर्जेको पार्टी होइन, जोगाऔँ । फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने खैर, सबै बिर्सौँ तर सङ्कटको यो घडीमा पार्टी जोगाऔँ । जोगाउने मात्र होइन, ८४ सम्म भरोसायुक्त शक्तिको रूपमा स्थापित गरेर, मिसन ८४ लाई सफल बनाऔँ,’ उनले अपिल गर्दै भनेका छन् ।

त्यसको ५ दिनपछि अर्थात् पुस २२ गते पुनः उनले रास्वपा र रविसँग आफ्नो सम्बन्धका विषयमा चर्चा गरेका छन् । पार्टी स्थापनाको तस्बिर सार्वजनिक गर्दै उनले आफ्नो कुरा नमान्दा लामिछाने आज सहकारी ठगी प्रकरणमा हिरासतसम्म पुग्नु परेको जिकिर गरेका छन् । लामिछानेलाई केही व्यक्तिले नराम्रोसँग घेराबन्दीमा पारेको भन्दै त्यसको प्रतिवाद गरेका छन् ।

लामिछाने हिरासतमा रहेका बेला मुकुलले भेट्न खोजे । तर रास्वपाका नेताहरूले भेटाउने कुनै व्यवस्था नगरेको गुनासो गरे ।

‘हिरासतमा परेपछि पनि मैले रवि दाइलाई भेट्न खोजेँ, कानुनी पाटोमा सहयोग गर्न पनि खोजँे, तर रवि दाइलाई घेरा हालिसकेका रहेछन् , भेट्न पनि दिएनन् । राजनीतिक रूपमा आफ्नो ठाउँ होला, तर वर्षौँ काम गरेको, मानवीयताको नाताले पनि भेट्न पाउनुपर्छ भन्दा पनि खै, रवि दाइको कानमा के के भरे, सामान्य भेट पनि दिएनन् । यिनीहरू जसरी पनि रवि दाइलाई जेल हाल्नमा कम्मर कसेर लागे र आरोप जति ममाथि खनाए । म त बाहिर छु, ६ महिनादेखि, तर पनि आरोप लागिरह्यो । मैले भनिरहँे, मैले सावधान गराइरहँे, तर कहिले गँजेडी र कहिले हैसियत के भनेर मविरुद्ध जनतालाई गुमराहमा पारिरहे, मेरा कुरामा रवि दाइलाई एकछिन सोच्न पनि दिएनन् । यदि मेरा कुरा गम्भीर भएर सोचेको भए, आजको स्थिति बिलकुल फरक हुन्थ्यो,’ ढकालले भनेका छन् ।

साथै उनले सुरुवाती दिनहरूमा लामिछानेले आफ्नो कुरा सुन्न सबैलाई आग्रह गर्ने गरेको समेत उल्लेख गरेका छन् । उनले रविले आफ्नो प्रशंसा गर्ने गरेको बताउँदै भनेका छन्, ‘रवि दाइ भन्नु हुन्थ्यो, ‘मुकुलको शैली फरक होला, तर सत्य बोल्छ । उसको कुरा सिरियसली लिन पर्छ । मुकुलले जे बोल्छ, पार्टी र देशका लागि बोल्छ । तर केही शैलीगत समस्या छन्, बिस्तारै सुधार हुँदै जान्छ, मैले बुझेको छु, म तपाईंहरूलाई बुझाउँछु, चिन्ता नलिनु ।’ यी कुराहरू रवि दाइले मसँग मात्र होइन, केन्द्रीय समितिमा गर्नु भएको छ, पार्टीका स्थानीयदेखि केन्द्रसम्मका सबै नेतासँग वन टु वन कुरामा पनि यही भन्नुहुन्थ्यो ।’
सामाजिक सञ्जालमा रवि र रास्वपाको प्रशंसा र सुझावमा उनी त्यतिमा मात्र रोकिएका छैनन् । उनले पुस २८ गते पुनः जिल्ला अदालत कास्कीको फैसलाबारे रास्वपा नेता कार्यकर्ताहरूलाई सुझाव दिएका छन् । उनले लामिछाने हिरासतमा रहँदा लामो समय रहन सक्ने अदालती प्रक्रिया र पार्टी जीवनलाई सन्तुलनमा राख्ने गरी सोच्नुपर्नेमा जोड दिएका छन् । लामिछाने धरौटीमा रिहा भएकोमा बधाई दिँदै अन्य १८ वटा फैसला बाँकी नै रहेकाले अहिले नै खुसी नहुनसमेत रास्वपाका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

‘१७ पटक अरू फैसला आउन बाँकी रहेकाले कुनै एउटा फैसला रवि दाइका लागि अप्रिय आउन सक्छ, यो सम्भावना बाँकी नै छ । यो समय खुसी हुने भन्दा पनि लामो समय लम्बिने अदालती प्रक्रिया र पार्टी जीवनलाई कसरी सन्तुलित बनाएर लाने त्यसबारे रणनीति बनाउने बेला हो । त्यो अप्रिय फैसला आउनु अघि नै पार्टीभित्रका दूषित शक्तिले खेलिरहेको खेल बुझ्दै उनीहरूलाई परास्त गरेमा रवि दाइलाई पनि जोगाउन सकिएला, पार्टी पनि जोगाउन सकिएला । अन्यथा आज भगवान् बनाइएको निकायले अर्को फैसला गरे, रवि दाइका लागि त गाह्रो बनाउँछ नै, त्यतिबेलासम्म दूषित शक्तिले यो बीचको अवधिमा आफूलाई पखाल्दै पार्टी नै कब्जा गरिसक्छ । यो राजनीति हो, राजनीति बुझौँ है साथीहरू । एउटा ठूलो ग्रान्ड डिजाइनमा पार्टी फस्दै छ,’ उनले रविप्रति सहानुभूतिभाव राख्दै भनेका छन् ।

त्यसो त यदि पार्टीबाट निकालिने अवस्था नबनेको भए अहिले रवि हिरासतमा हुँदा पार्टीमा मुकुलकै हालीमुहाली हुन्थ्यो । त्यही सोचेर नै आफू त्यहाँ रहन नसकेकोमा ढकाललाई पश्चाताप लागेको उनका अभिव्यक्ति र सामाजिक सञ्जालको गतिविधिले सहजै बुझाउँछ ।

एक महिनाको अवधिमा उनी निरन्तर पार्टी शुद्धीकरणका लागि सुझाव दिँदै हरेक गतिविधिमा आफ्नो धारणा राख्दै आइरहेका छन् । उनले जिल्ला अदालत काठमाडौं अघि वरिष्ठ अधिवक्तामाथि रास्वपा समर्थित मानिसहरूले कुटपिट गरेको भन्दै त्यसमा आपत्ति जनाएका छन् । अन्य दलहरूले हरेक क्षेत्रमा राजनीतिक रंग दिने गरेको विरुद्ध गठन भएको रास्वपा पुनः त्यही बाटोमा हिँडेको भन्दै कटाक्ष गरेका छन्

एक महिनाको अवधिमा उनी निरन्तर पार्टी शुद्धीकरणका लागि सुझाव दिँदै हरेक गतिविधिमा आफ्नो धारणा राख्दै आइरहेका छन् । उनले जिल्ला अदालत काठमाडौं अघि वरिष्ठ अधिवक्तामाथि रास्वपा समर्थित मानिसहरूले कुटपिट गरेको भन्दै त्यसमा आपत्ति जनाएका छन् । अन्य दलहरूले हरेक क्षेत्रमा राजनीतिक रंग दिने गरेको विरुद्ध गठन भएको रास्वपा पुनः त्यही बाटोमा हिँडेको भन्दै कटाक्ष गरेका छन् ।

उनले माघ ३ गते सामाजिक सञ्जालमा लेख्दै भनेका छन् । ‘…७० वर्षदेखि उनीहरूले पोत्ने खेल खेले, हामीले पनि त्यही सुरु गर्‍र्यौँ । हामीले बिर्सियौँ, हामीलाई कोटको रंग बदल्नु थियो वा कोट सिलाउनु थियो ? हिजो जे भयो (अधिवक्तामाथि आक्रमण), त्यो गलत भयो र दुःखद भयो,’ उनले भनेका छन् ।

त्यसलगत्तै त्यसको भोलिपल्ट विपक्षी दलहरूको बैठकमा रास्वपाको समेत उपस्थित रहेकोतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै सबैको विकल्प रास्वपा बनाउन लाग्न सुझाव दिए । ‘नो नट अगेन’ भन्दै उनले उदाएको दल पछि तीनै पुराना दलहरूसँग मिलेर अघि बढ्दा रास्वपाको मूल सिद्धान्तमा प्रश्न चिह्न खडा हुने भन्दै प्रश्न तेस्र्याएका छन् । त्यतिमात्र होइन उनले चौथो ठूलो शक्तिका हिसाबले विपक्षी दलको पत्रकार सम्मेलनमा रास्वपालाई महत्व नदिई अपमान गरेको उनले आरोप छ ।

उनले भनेका छन्, ‘रास्वपा विपक्षी हो, तर सरकारको मात्र विपक्षी होइन, कांग्रेस–एमाले–माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षी हो । ल्य ल्यत ब्नबष्ल पुरानालाई बोकेर कतै पुगिन्न । दुई दुई पटक सरकारमा गएर गरेको गल्ती, विपक्षी गठबन्धनमा सहभागी हुनु पनि त्यही गल्तीको निरन्तरता हो । नो नट अगेन भनेर हामीले मत पाएको तथ्य हामीले बिर्सन हुँदैन । बारम्बार एउटै गल्ती दोहोर्‍याउँदा जनमत हामीबाट भड्कन सक्छ, सचेत बनौँ । यो मञ्चमा हाम्रो उपस्थिति चित्त बुझ्ने कुरा होइन । त्यसमाथि, चौथो शक्तिको सभापतिको कुर्सी जता राखियो, त्यो पनि अपमानजनक छ ।’

त्यसै दिन उनले पार्टीको अनुशासन आयोगका सभापतिलाई रास्वपाको भाइरस भन्दै आलोचना गरेका छन् । पार्टीको अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटामाथि विभिन्न आरोप लगाएका ढकालले पार्टीले त्यस्ता प्रवृत्ति बुझ्न ढिला गरेको चिन्ता व्यक्त गरे ।

र, आज डा. मुकुल रवि र रास्वपाप्रति यति नरम भावमा देखिएका छन् कि पुराना कुराहरूलाई बिर्सिएर बन्द भएको बोलचाललाई ‘आइस ब्रेक’ गर्न आग्रह समेत गरेका छन् । उनले तलदेखि माथिसम्मका सबै तहलाई सुझाव दिँदै देश र जनताका पक्षमा काम गर्न आफू रास्वपासँग मिल्न तयार रहेको समेत बताएका छन् । साथै रवि सहकारी ठगी प्रकरणबारे लड्न योग्य रहेको र न्याय पाउने विश्वास समेत गरेका छन् । त्यति मात्र होइन लामिछाने हिरासतमा रहँदा पार्टीले जनताको काम गर्न नसकेको समेत चिन्ता मुकुलको रहेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् :

प्रिय रास्वपा सदस्यहरू । पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभाष भइरहेको छ । सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाई जनताको काममा हामी फर्कनै पर्छ । म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु आ–आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस् । तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस् । केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जागृत गर्नुहोस् र संसदमा जनताको आवाज पुर्‍याउन आजैबाट पहल थाल्नुहोस् । राजनीतिक परिस्थितिका कारण यो आग्रह पार्टीको औपचारिक च्यानलमार्फत राख्न सकिनँ । अहिले इगोमा बसेर केही हुँदैन । देश र जनताको मुद्दामा पार्टी कसरी अघि बढ्नुपर्छ भनेर विचार मात्र राखेको छु । के उचित के अनुचित भनेर नसोची, कृपया यो विषयलाई गम्भीरतापूर्वक लिनुहोस् । रवि दाइ आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन । आशा छ, तपाईंहरूले मेरो यो आग्रहलाई सकारात्मक रूपमा लिँदै जनताको पक्षमा आवश्यक कदम चाल्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?