काठमाडौं । चिनियाँ कार उत्पादन कम्पनी नेटाले आफ्नो उत्पादन र गुणस्तरमा वृद्धि गर्न १ खर्ब १३ अर्ब लगानी भित्राएको जनाइएको छ । कार न्युज चाइनामा प्रकाशित एक समाचारका अनुसार नेटाले ८१८ दशमलव ८ मिलियन अमेरिकी डलरको लगानी भित्राएको हो ।
नेटाले सन् २०२५ को सुरुवातमै १ खर्ब भन्दा बढी लगानी भित्राएपछि कम्पनीले बन्द गरिएको आफ्नो एक पुरानो कारखाना समेत पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
यसअघि चीनको टोंगसियाङमा रहेको आफ्नो कारखाना बन्दै गर्दै कर्मचारीलाई तलबसमेत नदिएको नेटाले बाह्य लगानी भित्रिएसँगै पुरानो तलब भुक्तानी गरी पुनः कार उत्पादन सुरु गरेको हो ।
सन् २०२४ मा नेटा आन्तरिक बजारमा अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी कमजोर बनेको थियो । आन्तरिक बजारमा अन्य सवारीसाधनको वर्चस्व रहेपछि उसको व्यापारमा ८८ प्रतिशतले कमी आएको थियो । त्यस लगत्तै नेटाले आफ्ना कर्मचारीलाई सन् २०२४ को सेप्टेम्बर महिनाको तलब समेत दिएको थिएन भने अक्टोबर महिनामा कर्मचारीको कटौती गरेको थियो ।
चरम आर्थिक अभावका कारण कम्पनीले वार्षिक २ लाख युनिट कार उत्पादन गर्ने क्षमता रहेको टोंगसियाङ कारखानाबाट नोभेम्बर महिनामा उत्पादन बन्द गरेको थियो । त्यस लगत्तै सन् २०२४ को डिसेम्बरमा सिइओ झाङ योंगलाई हटाएर संस्थापक अध्यक्ष फांग युनझाउ सिइओ बनेका थिए ।
आन्तरिक बजारमा कमजोर उपस्थिति
सस्तो मूल्यमा आकर्षक कार उत्पादन गरेको नेटाले सुरुवाती चरणमा उत्साहजनक व्यापार गरेको थियो व्यापार बढेसँगै आफ्नो उत्पादनसमेत बढाएको नेटाले अन्य कार कम्पनीले उत्पादन गरेका कारसँग प्रतिस्पर्धा गर्न नसकेपछि कमजोर हुन पुगेको थियो । नेटाको आन्तरिक व्यापारमा सन् २०२४ को अन्त्यमा अत्यधिक गिरावट आएको थियो । सन् २०२४ को डिसेम्बरमा नेटाले मात्रै २३७ थान कार विक्री ग¥यो, जुन वार्षिक तुलनामा ८८.३ प्रतिशतले कमी हो । चाइना ईभी डाटा ट्रयाकरका अनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म नेटा कम्पनीले ६१ हजार ५९२ थान मात्रै विक्री गर्न सफल भयो जबकि उसको लक्ष्य सन् २०२४ मा एक लाख थान कार विक्री गर्ने रहेको थियो । व्यापारमा ४० प्रतिशतले कमी आउनु र व्यवस्थापकीय खर्च अत्यधिक हुनु नेटाका लागि घाटाको व्यापार भएको थियो । यद्यपि बाह्य लगानी भित्रिएको र अब सस्तो मूल्यमा गुणस्तरीय उत्पादन गर्ने बाचा गरेसँगै सन् २०२६ मा कम्पनी पूर्णरुपमा नाफामा जाने जनाइएको छ ।
नेटा विदेशी बजारमा केन्द्रित
नयाँ लगानी भित्रिएसँगै नेटाले सन् २०२५ को जनवरी १७ मा दोस्रो विदेशी डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । सन् २०२५ मा कम्पनीले विदेशी बजारमा ध्यान केन्द्रित गर्ने र बिक्री दोब्बर बनाउने लक्ष्य राखेको जनाएको छ । गत वर्ष, नेटाले विदेशी मुलुकहरूमा पनि मात्रै ३० हजार युनिट बिक्री गरेको थियो जबकि लक्ष्य भने १ लाख थान सवारीसाधन बिक्री गर्ने रहेको थियो । सन् २०२५ मा भने नेटाले विदेशी बजारमा ६० हजार थान कार बिक्री गर्ने लक्ष्य राखेको छ ।
सुरुवाती चरणमा भने नेटाले आफ्नो उत्पादनको आधा हिस्सा चिन र आधा हिस्सा बाह्य मुलुकमा विक्री गर्ने लक्ष्य राखेको थियो । तर चिनियाँ बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाका कारण कार बिक्रीमा समस्या उत्पन्न भएसँगै उसको लक्ष्य अब विदेशी मुलुक रहने र समयमै मर्मत र पार्टपुर्जाको उपलब्धता सुनिश्चित गर्ने गरी काम गर्ने जनाएको छ । नेटाले दक्षिण पूर्वी एसिया, मध्य अमेरिका र दक्षिण अमेरिकाका करिब ४० देशमा १८० भन्दा बढी बिक्री केन्द्र स्थापना गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया