चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा चेकिङमा खटिएका प्रहरीले एक युवकमाथि गरेको निर्घात कुटपिटको घटनालाई लिएर छानबिन समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
सो भिडियो चितवनको बाइपास सडक खण्डको भएको पुष्टि भएपनि कुन ठाउँको र कहिलेको घटना भने पुष्टि हुन सकेको छैन ।
चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरुलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
सामाजिक सञ्जालमा अपलोड गरिएको यो घटनाको भिडियो अहिले भाइरल भइरहेको छ । प्रहरीले बाइपास सडकखण्डमा रातको बेला मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै ती युवकलाई निर्घात कुटपिट गरेको देखिन्छ ।
युवकमाथि कुटपिट गर्ने प्रहरी यतिसम्म आक्रोशित बनेको देखिन्छ कि, ती युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हान्दा पनि उनको रिस मरेको देखिँदैन ।
निरन्तर बुट बजारिएपछि ती युवक भाग्न खोज्छन् । तर फेरि ती प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । त्यसपछि पनि गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया