काठमाडौं । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा जान तयार भएका छन् ।
एमालेका पूर्व उपाध्यक्ष समेत भइसकेका वामदेव लामो समयदेखि एमालेमा जान तयार रहेका थिए । केही समयअघिदेखि एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा जाने चर्चा थियो । वामदेवले विभिन्न सर्तहरु राखेपछि उनी एकीकृत समाजवादी छाडेर एमालेमा जाने तयारी गरेका हुन् ।
वामदेव निकट डीबी कार्कीले यो साताभित्रै एमालेसँग नेकपा एकता राष्ट्रिय अभियानको एकता हुने बताए । साथै पदबारे कुनै कुरा नभएको समेत उनले बताए ।
‘हामी एक साताभित्र एकता गर्छौँ । दुई वटा अध्यक्षको बिचमा सल्लाह भयो भएपछि हामी एकता प्रक्रियामा जान्छौँ,’ उनले लोकपथसँग भने ।
यता एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वामदेव पार्टीमा आउने निश्चित भएको र दुई अध्यक्षबीच कुराकानी समेत भएको बताए ।
‘दुई अध्यक्षबीच कुराकानी भएको छ । उहाँ आउन तयार हुनुहुन्छ । सकारात्मक पनि देखिनु भएको छ,’ लोकपथसँग कुराकानी गर्दै उनले भने ।
त्यस्तै आएर काम गरिसकेपछि मात्रै त्यसबारे कुरा गर्ने बताएको ज्ञवालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया