दुर्गा प्रसाईँप्रति गभर्नरको टिप्पणी– ‘ऋण नतिर्न उक्साउनेहरुका कारण अर्थतन्त्रमा असर पर्‍यो’

लोकपथ
119
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठूलो असर परेपनि राष्ट्र बैंक बाह्य क्षेत्रमा सबल रहेको बताए ।

उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गरे । उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताए ।

गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्र समग्र रुपमा अर्थतन्त्रका फण्डामेण्ट्ल्सहरु अत्यन्तै राम्रा छन् । हामी बाह्य क्षेत्रमा सबल छौँ । पछिल्लो समय बाढी, पहिरोको निकै ठूलो असर परेको हामीले देख्यौँ । जसको फलस्वरुप खाद्य, पेय पदार्थतिरको इन्प्लेसन अलिक बेसी बढेको छ । तर पनि औषतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ । बैंकिङ सिस्टममा तरलता एकदमै राम्रो छ । बैंकहरु वेल क्यापिटलाइज छन् । भला अलिकति स्ट्रेस प्रफिटमा छ । रिकोभरीमा छ । त्यो हामीले स्पष्ट रुपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ । अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यसको बाबजुद बैंकका साथीहरु आफ्नो ठाउँमा ग्रासरुटमा खट्नुभएको छ ।’

लामो समयदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ऋणीहरुलाई ऋण नतिर्न भन्दै उक्साइरहेका छन् । उनले विभिन्न अभियान चलाएर ऋण नतिर्न उक्साउने र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण गर्ने जस्ता गतिविधिहरु गरिरहेका छन् ।

गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताउनु भयो । अराजकताका यस्ता विषयहरु सधैँ नरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?