काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध आज सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले ३८ लाख ३० हजार ५०० रुपैयाँबराबर आर्थिक हिनामिना गरेको पाइएको भन्दै अख्तियारले मुद्धा दायर गरेको हो ।
अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेका अनुसार, साविकको आदर्श गाविस भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको भन्दै मुद्धा दायर गरिएको हो ।
यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया