एकाएक एमालेतर्फ किन मोडियो वामदेवको मन ? (भिडियोसहित)

पहिले पार्टी एकीकरण त्यसपछि मात्रै पदको कुरा गर्ने वामदेवको तयारी

सोच्नुस् त खुर्सानी पिरो भएन, चिनी गुलियो भएन र पानीबाट प्यास मेटाउने गुण हरायो भने ती चिजहरूको अस्तित्व के हुन्छ ?

यसलाई राजनीतिसँग जोडेर हेरौँ, समाजलाई गति दिँदै र जनतामा सकारात्मक मति भर्ने कामबाट नेताहरू च्युत भए भने अस्तित्व बाँकी रहन्छ त ? नेपाली राजनीतिमा त्यस्ता धेरै पात्रहरू छन् जसको अस्तित्व खुर्सानीबाट पिरो र चिनीबाट गुलियो सकिएको जस्तै भइसकेको छ ।

स्वार्थ केन्द्रित राजनीतिमा जुनसुकै वाद र सिद्धान्तसँग सत्ताको जोड घटाउका लागि नेताहरू उद्धत बने । घृणित र सत्ता केन्द्रित स्वार्थी राजनीतिका कारण मुलुक पंगु बन्यो, सबै कुरा राजनीतिमै गएर अल्झियो । नेताको स्वार्थको कोपभाजनमा परेपछि राजनीतिमा अस्थिरताको बीजारोपण भयो । र, अस्थिर राजनीतिका कारण को कुन बेला कोसँग मिलिदिन्छ स्वयंलाई बाहेक अरूलाई थाहा नहुने भइदियो ।

भनिन्छ– राजनीति अघिअघि बढ्नुपर्छ र राजनीतिको दिशा निर्देशमा समाज पछिपछि लम्किनुपर्छ । तर तिनै राजनीतिलाई अस्थिर बनाउनेहरूले न राजनीतिलाई विकासको मार्गबाट अघि बढ्न दिए नत समाजलाई राजनीतिको पछिपछि प्रगतिशील ढङ्गले हिँड्न छाडिदिए । राजनीति भन्दा समाज धेरै अघि बढिसकेकाले होला समाजले नेपाली राजनीतिमा बेलाबेला नयाँ परीक्षणहरू गरिरहेको छ ।

यहाँ नेपाली राजनीतिका त्यस्ता अस्थिर पात्रका बारेमा कुरा गर्दैछौँ जो जबरजस्त आफूलाई पुनः राजनीतिको मूलधारमा उभ्याउन खोज्दै छन् । आफ्नो धुमिल भइसकेको अस्तित्वलाई पुनः उज्यालो बनाउन कहिले कोसँग त कहिले कोसँग एकताको नाटक मञ्चन गरिरहेका छन् ।

आफ्नो स्वार्थका लागि जता पनि पल्टिन सक्ने र खोज्ने नेपाली राजनीतिका ‘पल्टुराम’ पात्र हुन् वामदेव गौतम । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा जाने चर्चाको ‘चर्चा’ सेलाउन नपाउँदै वामदेव गौतम पुनः मुलघर एमालेमा नै जाने अर्को चर्चा सुरु भएको छ । एमालेका पूर्व उपाध्यक्ष समेत भइसकेका वामदेवले आफ्नै मुलघर प्रवेश गर्न पनि धेरै रोटी बेल्नुप-यो । ०७७ सालमा नेकपाको विभाजनपछि उनी कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ त कहिले केपी शर्मा ओलीतिर लाग्दै रहे । आफूलाई सबै नेता र सबै कम्युनिस्ट पार्टीको साझा बनाउने धोको पालेका वामदेवले नेपालमा कम्युनिस्ट पार्टीको एकता गर्ने हुटहुटीमा लागे । आफ्नै आँखा अघि शक्तिशाली नेकपा फुट्दा त्यसलाई जोगाउन नसकेका वामदेवले फुटेकाहरूलाई जोड्छन् भन्ने विश्वास दुवै वा कम्युनिस्ट कुनै पक्षमा पनि थिएन । पार्टी एकताको अभियान नै चलाए पनि अस्थिर चरित्रका कारण कम्युनिस्ट एकताको कुनै सम्भावना नभएपछि उनी आफैँ कम्युनिस्ट धारका पार्टीमा आफ्नो स्थान सुरक्षित बनाउँदै जाने होडमा लागे ।

कम्युनिस्ट पार्टीका अन्य घटकहरूमा भन्दा मूल घर एमालेमा नै जान वामदेवको मन औधी हौसिएको थियो । तर एमालेबाट कुनै संकेत र बोलावट नभए पनि उनले बारम्बार एमालेमा जान अनुनय विनय गरी रहे । उनले आफूले श्रीमती मार्फत भए पनि आफ्नो पार्टी सदस्यता नवीकरण गरेर जाने भन्दै एमाले अध्यक्षसामु सार्वजनिक रूपमै अलाप गरे । तर ओलीले कुनै चासो नदेखाएपछि एमालेप्रति वामदेवको मन नराम्ररी मर्यो । र, त्यसैबेलाबाट हो वामदेव एमालेबाट फुटेर बनेको सानै दल भए पनि ठूला भाग खोज्दै जान तयार भए ।

हामीले यसअघि नै ‘एमालेसँग किन मर्‍यो वामदेवको मन ? यसरी बन्यो एकीकृत समाजवादी प्रवेशको योजना ।’ शीर्षकमा वामदेवका उकाली ओरालीका बारेमा चर्चा गरिसकेका छौँ ।

पहिलेको भिडियो हेर्नुहोस् :

अब कुरा गरौँ एमालेसँग मन मरेका वामदेवको पुनः कसरी त्यही एमालेमै जाने वातावरण बन्यो र एकीकृत समाजवादीसँगको वार्ता किन भंग भयो भन्ने विषयमा ।

एमालेमा लामो समय रजगज गरेका वामदेव नेपाली राजनीतिकै चर्चित पात्र हुन् । कुनै बेला एमालेमा ‘जता वामदेव उतै बहुमत’ भन्ने भाष्य थियो । तर आफ्नै अस्थिर चरित्रका कारण किनारामा लाग्न पुगेका वामदेव एमालेका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष समेत रहेका एमाले पूर्व महासचिव माधवकुमार नेपाल जत्तिकै दुःख गरेका पात्र हुन् भन्न चाहिँ हिचकिचाउनु पर्दैन ।

एमालेले कुनै वास्ता नगरेपछि वामदेव एकाएक एकीकृत समाजवादीमा जाने जमर्को गरे । वामदेवले एकीकृत समाजवादीमा जान धेरै पटक माधवकुमार नेपालको कोटेश्वरस्थित निवास र एकीकृत समाजवादीको केन्द्रीय कार्यालय धाए । माधव नेपाल पनि धेरै पटक भैँसेपाटीस्थित वामदेव निवास पुगे । एकीकृत समाजवादीसँग आफ्नो अभियानलाई एकता गराएर आफू उपल्लो दर्जामा रहने र आफू निकटका नेताहरूको व्यवस्थापन गर्ने तयारी वामदेवले गरिरहँदा पनि एमालेसँग पनि उनको उत्तिकै कुरा चलिरहेको थियो । दुवै पार्टीलाई देखाएर दुवै पार्टीसँग बार्गेनिङ पावर बढाइरहेका वामदेव माओवादी नेताहरूसँग समेत छलफल हुँदै छ भन्ने चर्चा चल्ने गरेको थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम

एमालेको मुख्य मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई नै मुख्य सिद्धान्त मानेर अघि बढ्न एकीकृत समाजवादी सामु वामदेवको माग थियो । तर सुरुमै त्यो माग एकीकृत समाजवादीले अस्वीकार गरिदिएपछि उनी एकीकृत समाजवादीले अंगालेको समाजवादलाई मान्न तयार भए । तर उनको मागहरू असीमित थिए । आफू संगठन विभागको प्रमुख बन्न पाउनुपर्ने मात्रै होइन भावी नेतृत्वको रूपमा आफूलाई स्वीकार गर्नुपर्ने लगायत वामदेवका महत्त्वाकांक्षी माग थिए । त्यति मात्र होइन पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अवधारणा अघि सारेर अघि बढ्नुपर्ने वामदेवको अडानलाई एकीकृत समाजवादीले बहुमतले अस्वीकृत गरिदियो । पार्टीको तेस्रो वरियतामा वामदेवलाई राख्ने नेताहरुबीच मोटामोटी सहमति नै भइसकेको थियो । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछिको वरिष्ठ नेताको वरियता वामदेवको हुने थियो । तर असीमित माग र उम्लिएको महत्वकांक्षाले वामदेव बल्ड्याङ खाएपछि अहिले एमालेमा जाने तयारीमा छन् ।

वामदेवका लागि एमालेले प्रवेशको स्वीकृति मात्रै पनि ठूलो उपलब्धि जस्तो देखिएको छ । पटक पटक एमालेले आफूलाई बोलाइदेओस् भन्ने अनुनय विनय गरेका कारण प्रवेश पाएको खुसीयालीका कारण होला अहिले वामदेव कुनै पदका लागि मरिहत्तेमा छैनन्, केवल पार्टीमा जान पाए हुन्छ भन्ने अभिलाषा देखिएको छ । न पद, न आफ्ना नेताहरूको व्यवस्थापनको कुरा केवल प्रवेशका लागि मात्रै वामदेव किन लालायित भए अचम्मको विषय बनेको छ । तर कतै एकीकृत समाजवादीसँग जस्तै अन्तिम अवस्थामा एकता प्रक्रिया त रोकिने होइन भन्ने संशय भने बाँकी नै छ ।

यता वामदेव निकटका डीबी कार्कीले ढिलोमा यही साता एमाले र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने बताए । उनका अनुसार दुई अध्यक्षबीच थप कुराकानी भएपछि एकता हुने र अहिले कुनै जिम्मेवारीको कुरा नभएको समेत उनले बताए । साथै सबै दलहरूलाई मिलाउने आफूहरूको योजना कायमै रहेको समेत उनको धारणा रहेको छ ।

त्यहाँ वामदेव लगायत तपाईँहरु जस्ता नेताको व्यवस्थापन कसरी हुन्छ ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘अहिले पदबारे कुनै कुरा छैन ? हामी पहिले एकताको कुरा गर्छौँ अनि मात्रै पदको कुरा आउँछ ।’

उनले त्यति मात्रै भनेनन् । कालान्तरमा एकीकृत समाजवादी नै एमालेमा आउने भएको संकेत पाएका कारण आफूहरू एकीकृत समाजवादी छाडेर एमालेसँग वार्ता लागेको बताए ।

‘हामीले केही समयमा नै एकीकृत समाजवादी नै एमालेमा आउने संकेत पाएका छौँ । एकीकृत समाजवादीलाई मात्रै होइन सबै कम्युनिस्ट घटकहरूलाई एक ठाउँमा ल्याउँछौँ । हाम्रो मुख्य उद्देश्य जहाँ गए पनि मर्दैन,’ उनले भने ।

यता एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले पदको कुनै कुरा नभएको र वामदेव आउन सकारात्मक भएर प्रस्ताव गरेपछि ढोका खुला राखेको बताउँछन् ।

एकीकृत समाजवादी जाने चर्चा र अन्तिम तयारी पनि थियो, तर अन्तिम अवस्थामा आएपछि उहाँ जानुभएन, कतै एमालेसँग पनि त्यही हालत हुने त होइन भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘त्यो त उहाँले जान्ने कुरा हो, हामीले पूर्व सहकर्मी आउँछु भनेपछि खुसीसाथ स्वागत गर्ने हो । अरू कुरा उहाँमा नै भर पर्छ हामीले जान्न सक्दैनौँ ।’

केही दिन अघि लोकपथसँगको कुराकानीका क्रममा एकीकृत समाजवादीका प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले वामदेव विचारविहीन अवस्थामा पुगेका कारण गैरकम्युनिस्ट घटकसँग पनि मिल्न सक्ने आरोप लगाएका थिए । आफू एक व्यक्तिको त एकीकृत समाजवादीसँग प्रवेशको कुरा मिलिरहेको थिएन । तर वामदेवको महत्त्वाकांक्षा भने एमालेको जबज, माओवादीको माओवादी र एकीकृत समाजवादीको समाजवादलाई फ्युजन गराएर बृहत् कम्युनिस्ट पार्टी बनाउने अभिलाषा थियो । यही बीचमा माओवादीका नेताहरूसँग समेत एकताको जमर्को गरिरहेका वामदेवको चरित्र र महत्वकांक्षालाई हेर्दा अर्यालको आरोप त्यति नाजायज पनि होइन ।

छिमेकी देश भारतको विहारको राजनीतिमा ‘पल्टुराम’ शब्द बहुत चर्चित छ । विहारका मुख्यमन्त्री नितिश कुमार आफूलाई सत्तामा टिकाउन जस्तोसुकै सम्झौता गर्न तयार हुन्छन् । ती नितिश कुमार र यी वामदेव अनि अन्य वामदेवहरूको भूगोल, दल र अवस्था फरक हो तर स्वार्थ केन्द्रित चरित्र भने उही हो । आफ्नो लागि जता पनि पल्टिन तयार हुने नेपाली ‘पल्टुराम’ वामदेवको आगामी राजनीति के होला यसै भन्न सकिन्न । न एमालेमा जालान् भन्ने ग्यारेन्टी छ, गैहाले पनि न उनले भनेजस्तो त्यहाँ टिकिरहने ल्याकत राख्छन्, न एमालेसँगको यात्रा बिचमै छाडेर हिँड्छन् त्यो भने वामदेवकै चरित्रमा निर्भर रहन्छ ।

वामदेव मात्र होइन सत्ता, शक्ति र स्वार्थका लागि नेपाली राजनीतिमा थुप्रै ‘पल्टुराम’ हरू छन् । जसले मिनेटैपिच्छे जनतालाई झुक्क्याइरहेका छन् ।

यो पनि…

वामदेवका उकाली ओराली : एकीकृत समाजवादी ओत लाग्ने चौतारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?