स्वास्थ्य बिमामा सुधार कार्ययोजना प्रक्रिया सुरु

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजनाअघि बढाएका छन् ।

प्रतिवेदनले दिएको सुझावअनुसार तत्काल गर्न सकिने व्यावहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका छन् ।

कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा सरोज शर्मा, डा अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थालेपछि मन्त्री पौडेलले मन्त्रालयगत तयारी अघि बढाएका हुन् ।

आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बिमा कार्यक्रमलाई परिमार्जन गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको स्वीकृतिपछि मन्त्री पौडेलले चरणबद्ध रुपमा सुधार प्रक्रिया अघि बढाएका हुन् । कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रिपरिषद्मा लैजाने मन्त्रालयको तयारी छ ।

यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकालमा लागू गर्न सकिने विषय कार्ययोजनामा समावेश गरेर प्रतिवेदन दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?