काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्नेसहित विभिन्न आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपतिको शपथ लिएलगत्तै उनले सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका हुन् ।
उनले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा गरेको हस्ताक्षरलाई विशेष चासोका साथ हेरिएको छ । यद्यपि, यो आदेश कार्यान्वयनमा भने अदालती लडाइँ सुरु हुनसक्ने समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानामा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ ।
उनले आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू हस्ताक्षर गरेका छन् । जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ । उनले आर्टिफिसियल इन्टेलिजेन्स र विद्युतीय सवारी साधनहरूलाई नियन्त्रण गर्ने नीतिहरूको पनि खारेज गरेका छन् । यस्तै, उनले चार वर्षअघि सन २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तलाई माफी दिने निर्णयमा पनि हस्ताक्षर गरेका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेस बैठकलाई बिथोल्न बैठक चलिरहेको हलमा प्रवेश गरी उनीहरूले आक्रमण गरेका थिए । त्यसबेला संसद भवनमा आक्रमण गर्नेहरू ट्रम्पकै समर्थक रहेको भनिएको थियो । उनले आफू राष्ट्रपति निर्वाचित भएपछि ती अभियुक्तहरूलाई रिहा गर्ने बताउँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया