तारकेश्वरमा भाँडभैलो : वडाध्यक्षले जवाफदेहिता माग्दा मेयरको पत्र, प्रशासकीयले खोसे सबै अधिकार

प्रमुख प्रशासकीयले खोसे सबै विभागीय प्रमुखहरुको अधिकार

लोकपथ
483
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष शम्भुप्रसाद फूँयालले नगरले फोहोर वापत उठाउने रकमबारे प्रश्न उठाएका छन् ।

गत पुस २९ गते वडाध्यक्ष फूँयालले सामाजिक सञ्जालमा लेख्दै तारकेश्वरका जनताले फोहोर वापत वार्षिक रुपमा ७ करोड रकम बुझाउने गरेको तर त्यसको हिसाबकिताबबारे बेखबर रहेको भन्दै जवाफ माग गरेका थिए ।

‘तारकेश्वर नगरपालिकामा वार्षिक रुपमा जनताले फोहोरमहिलाको नाममा वार्षिक ७ करोड बुझाउँछन् । कसलाई बुझाउँछन् थाहा छैन । हिजोको मेयर पनि चुप आजको मेयर पनि चुप,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

वडाध्यक्ष फूयाँलको सवालप्रति गम्भीर रहेको भन्दै मेयर कृष्णहरि महर्जनले उक्त पोस्टले सार्वजनिक शिष्टाचार उल्लंघन भएको भन्दै सत्यतथ्यसहितको यथार्थ विवरण तीन दिनभित्र नगरमा बुझाउन पत्र काटेका छन् ।

‘तपाईँको फेसबुकबाट पोस्ट गरिएको उल्लेखित विषय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा, ११२, (२) बमोजिम सार्वजनिक शिष्टाचार उल्लंघन गरेको देखिँदा पोस्टसँग सम्बन्धित सत्यतथ्यसहितको यथार्थ विवरण ३ दिनभित्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ,’ मेयर महर्जनले गत माघ २ गते पत्र पठाएका थिए ।

पत्र हेर्नुहोस् :

मेयर कृष्णहरि महर्जनले वडाध्यक्ष शम्भुप्रसाद फूँयाललाई पठाएको पत्र

यता वडाध्यक्ष फूयाँलले मेयरको पत्र प्राप्त भएपछि त्यसको प्रतिउत्तर पठाउँदै आफूले उठाएका मागहरु जायज रहेको स्पष्ट पारेका छन् । त्यस्तै उनले तारकेश्वर नगरपालिकाले वर्षौँदेखि फोहोर उठाउने जिम्मा प्राइभेट कम्पनीलाई दिइएको र त्यसबाट प्राप्त रकम सदुपयोग भएको छ वा छैन भन्दै जवाफदेहिता माग गर्नु आफ्नो अधिकार रहेको बताएका छन् ।

‘तारकेश्वर नगरपालिकाभित्र वर्षौँदेखि विभिन्न प्राइभेट कम्पनीको नाममा स्थानीय नागरिकको घरबाट फोहोर संकलन हुँदै आएको र प्रतिघर रु. ३०० (तीन सय) रकम समेत संकलन गर्ने गरेको भएता पनि उक्त कम्पनीहरुले हालसम्म नगरपालिकाबाट वैधानिक रुपमा अनुमति नलिएको विषयमा चासो राख्नु एक जनप्रतिनिधिको कर्तव्य र दायित्व होइन र ? आम नागरिकले उठाउने सुशासन र पारदर्शीताको विषयमा बोल्न लेख्न नगरपालिकाको अनुमति लिनुपर्ने भएको हो रु करिब ४१,३६२ घरधुरीबाट प्रतिघर रु। ३०० संकलन गर्दा जम्मा रु। १, २४, ०८, ६०० (एक करोड चौबिस लाख, आठ हजार छ सय) प्रतिमहिना संकलन गर्ने गरेको र हालसम्म सोबाट नगरपालिका लाभान्वित हुने गरी कुनै काम नभएको र व्यक्तिले मात्र नाफा कमाएको विषयमा मैले पटकपटक आवाज उठाए पनि मैले उठाएको आवाजको सम्बोधन नभएपछि आम नगरवासीको प्रश्नको उत्तर दिएको हुँ । मेरो आवाज नगरवासीको पक्षमा हो भन्ने प्रष्ट पार्दछु,’ वडाध्यक्ष फूयाँलले पठाएको पत्रमा भनिएको छ ।

त्यस्तै उल्लेखित माग छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने आफ्नो माग रहेको समेत स्पष्ट पारेका छन् । साथै फोहोरको विषयमा कुरा उठाउँदा आफूमाथि धम्की समेत आएको भन्दै मेयर महर्जनलाई अवगत गराएका छन् ।

‘उल्लेखित कार्य यथासक्य छिटो सुरु गर्नुपर्ने समेत मेरो माग हो । जनप्रतिनिधिले नगर अन्तर्गत आफ्नो क्षेत्रमा हुने वेथिति, विसंगती, अपारदर्शिता, सार्वजनिक खरिद ऐन तथा स्थानीय सरकार सञ्चालन ऐनका विपरित भ्रष्टाचारजन्य कार्यहरुको विषयमा उठेको आवाज स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११२ ९२० को कानूनी परिभाषाभित्र नपर्ने स्पष्ट रहेको समेत जानकारी गराउँदछु । बरु बन्द कोठाभित्र फोहोरको विषयमा नबोल्न आएको धम्कीको विषय नगरप्रमुखलाई जानकारी होला । हामी नगरपालिकाको हित र नगरबासीको भरोसा बन्नको निम्ति सीमित व्यक्ति वा संस्था भन्दा पनि आम नागरिकको पक्षमा बोल्न र त्यही अनुसार काम गर्न तत्पर हुनुपर्छ,’ उनले पठाएको पत्रमा उल्लेख गरिएको छ ।
लामो समयदेखि तारकेश्वरमा फोहोरबाट संकलित राजस्वको विषयमा प्रश्न उठ्दै आएको छ । स्मरणरहोस् गत निर्वाचनमा वडाध्यक्ष र मेयर दुवै नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

पत्र हेर्नुहोस् :

वडाध्यक्ष शम्भुप्रसाद फूँयालले मेयर कृष्णहरि महर्जनलाई पठाएको पत्र

त्यस्तै यता प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले नगरपालिकाका सबै शाखा प्रमुखहरुलाई दिएको अधिकार कटौती गर्दै सबै अधिकार आफूमा निहित बनाएका छन् ।

नगरप्रमुखलाई बोधार्थ जनाउँदै उनले अधिकार आफूमा मात्रै केन्द्रिकृत गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत पन्तले ०८० साल भदौ ६ गतेबाट विभिन्न मितिमा प्रत्यायोजन गरेका अधिकारहरु आफूमा केन्द्रित बनाएको बताएका छन् ।

‘उपरोक्त सम्बन्धमा म प्रमुख प्रशासकीय अधिकृतको हैसियतले मिति २०८०/०५/०६ देखि विभिन्न मितिमा तहाँ नगरपालिकाका शाखा प्रमुखहरुलाई प्रत्यायोजन गरेको सबै अधिकार फिर्ता लिएको छ,’ पत्रमा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको सूचना

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पन्तले आफू अनुपस्थित भएदेखि हालसम्म गरेका कामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने भन्दै आगामी दिनमा प्रत्यायोजित अधिकारका कार्यहरु नगर्न र गरेमा कारबाही गर्ने धम्की समते दिएका छन् ।

‘…म अनुपस्थित भएदेखि हालसम्म भएगरेका सम्पूर्ण कामको जिम्मेवारी तथा दायित्व तपाईँ स्वंयमा रहने गरी आजका मितिबाट प्रत्योजित अधिकारका कार्यहरु नगर्नु नगराउनु हुन जानकारी गराउँदै कुनै कार्य भए गरेमा नियमानुसार कारबाही हुने व्यहोरा समेत जानकारी गराउँदछु,’ प्रमुख प्रशासकीय अधिकृत पन्तद्वारा जारी पत्रमा भनिएको छ ।

पछिल्ला दिनहरुमा जनप्रतिनिधिदेखि त्यहाँका कर्मचारीसम्मको व्यवहारबारे सर्वसाधारणले प्रश्न उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?