अछाममा एमालेलाई झड्का, भीम रावललाई १०८६ जनाले एकैपटक गरे समर्थन

लोकपथ
406
Shares

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेसँगै रावल आफ्नो संगठन विस्तारमा लागेका छन् ।

गत पुस १७ गते मातृभूमी जागरण अभियान घोषणा गरेका रावललाई उनको गृहजिल्ला अछाम र गृहप्रदेश सुदूरपश्चिमबाट समर्थन प्राप्त भइरहेको छ ।

रावललाई पार्टीबाट निकालिएको भन्दै उनको अभियानको पक्षमा अछामबाट १ हजार भन्दा बढी व्यक्तिहरुले समर्थन गरेका छन् ।

रावललाई प्रदेश कमिटी तथा विभागीय सदस्य गरी ७, केन्द्रीय विभागबाट २, जिल्ला कमिटी सचिवालय सदस्य ५, प्रवास केन्द्रीय प्रतिनिधि परिषद्बाट १, जिल्ला कमिटी सदस्य १७, पूर्व जिल्ला कमिटी सदस्य ३, जिल्ला सल्लाहकार सदस्य १३ जनाले समर्थन गरेका छन् । साथै नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२, अनेम संघ कार्यवाहक अध्यक्ष १, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरु ८, वडा कमिटीका अध्यक्ष तथा पदाधिकारीहरु २२, संगठित सदस्यहरु ६३७ जना, अन्य पार्टीबाट ५ जनासहित नेकपा एमालेका विभिन्न तहमा क्रियाशील रहेका ३५३ जना गरी कुल १ हजार ८६ जनाले समर्थन गरेको जनाएका छन् । उनीहरुले तत्कालका लागि पार्टी नछाडेपनि रावललाई समर्थन गरेको बताएका छन् ।

त्यसो त केही दिनअघि नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा.रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरु संयुक्त विज्ञप्ति निकालेर रावलको पक्षमा उभिएका हुन् ।

यो पनि…
सुदूरपश्चिममा एमालेलाई ठूलो झट्का, ५९ नेता–कार्यकर्ता एकसाथ रावलको पक्षमा उभिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?