काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा ‘लागूऔषध, सीमा सुरक्षा र युवा’ मा आधारित ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने आधार वाक्यमा केन्द्रित भई सप्ताहव्यापी रूपमा देशभर ३ सय ६१ वटा कार्यक्रम सञ्चालन गरेको छ ।
यसैगरी सीमा क्षेत्रमा लागूऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानुनी व्यवस्था उल्लेख गरी ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ आधार वाक्य लेखिएको २ सय १३ वटा होर्डिङ बोर्ड राखिएको छ ।
यस कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाईहरूबाट स्थानीय विद्यालयमा विद्यार्थीहरूलाई लागूऔषधसम्बन्धी २ सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको छ । जसमा १२ हजार ३ सय ६८ जना सहभागी भएका छन्, उपयुक्त स्थानको पहिचान गरी लागूऔषध दुर्व्यसनी सम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ, विद्यालय तथा स्थानीय क्लबहरूमा गई ‘लागूऔषध, सीमा/सुरक्षा र युवा’ मा केन्द्रित भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ ।
यसैगरी सीमा इलाकाका भारतीय समकक्षीसँग लागूऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक सम्पन्न भएको छ भने उल्लेखित विषयमा केन्द्रित रही बाहिनी तथा जिल्लास्थित कार्यालयका प्रमुखहरूको उपस्थितिमा स्थानीयस्तरको रेडियो तथा एफ.एम.मा एक घण्टाको १२ वटा जनचेतनामूलक संवाद कार्यक्रम सञ्चालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपालका इकाईहरूले जिम्मेवारी क्षेत्रमा भएका लागूऔषध प्रयोग, दुर्व्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरूको अभिलेख राख्ने कार्य समेत गरिएको छ ।
यसैगरी ‘शीघ्र प्रभाव आयोजना’ अन्तर्गत निर्माण, समुदाय विकास तथा क्षमता अभिवृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तीकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर ४ सय ७३ वटा कार्यक्रम सञ्चालन गरेको छ ।
जसमा समुदाय विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत १ सय २९ वटा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै निर्माण अन्तर्गत १३ स्थानमा चौतारा, १३ वटा प्रतीक्षालय, ७ वटा सार्वजनिक शौचालय र १८ वटा खानेपानीको धारा निर्माण गरिएको छ ।
यसैगरी स्वास्थ्यअन्तर्गत १० स्थानमा स्वास्थ्य शिविर र ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियान अन्तर्गत १ सय ९८ स्थानमा सरसफाइ र ३४ स्थानमा वृक्षारोपण तथा महिला सशक्तीकरण अभियान अन्तर्गत ११ वटा आत्मरक्षा तालिम सञ्चालन गर्नुको साथै कल्याणकारी कार्यक्रमअन्तर्गत १० वटा विद्यालयमा शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । यस कार्यक्रमले संगठनको कामकारबाहीको बारेमा प्रत्यक्ष रूपमा जनस्तरसम्म सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया