चन्द्र भण्डारी र शशांकलाई दाँयाबाँया राखेर प्रचण्डले भने– ‘यो सरकार धेरै टिक्दैन’

लोकपथ
217
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन् ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले त्यस्तो दाबी गरेका हुन् ।

विमानस्थलमा उनीसँगै रहेका कांग्रेस नेताहरु डा. चन्द्र भण्डारी र डा. शशांक कोइरालालाई दाँयाबाँया राखेर प्रचण्डले त्यस्तो दाबी गरेका हुन् ।

उनले आफूलाई सरकार धेरै समय जान्छ जस्तो नलागेको र अहिले अध्यादेशसम्म आइपुग्दा सरकारको अवस्था लाजमर्दो रहेको उनको भनाइ थियो ।

‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक छैन । स्वाभाविक छैन । पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ,’ प्रचण्डले भनेका थिए ।

उनको अभिव्यक्ति सुनिरहेका डा. चन्द्र भण्डारीले भने हास्दै कानेखुसी गरिरेका थिए ।

त्यस्तै पत्रकारहरुसँग कुरा गर्दै डा. कोइरालाले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्छ ।’

स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उनको भनाइ थियो । त्यस्तै उनले संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरुसँग समेत छलफल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?