लाजिम्पाट रड प्रहार प्रकरण : कहाँ छन् मुख्य अभियुक्त अजय लामा ?

दीपक मनाङेका पिएलाई सरकारी वकिलले दियो उन्मुक्ति

काठमाडौं । करिब ३ महिनाअगाडि काठमाडौंको लाजिम्पाटमा एक घरजग्गा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार भयो ।

कात्तिक ११ गते बिहान ११ बजेर ५० मिनेट जाँदा घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भएको थियो । लाजिम्पाटको पानीपोखरीस्थित इनोभा अस्पतालको पार्किङमा कार रोकेर निस्किएलगत्तै व्यवसायी विक्रम लामामाथि अन्धाधुन्ध रड प्रहार भएको थियो । लामाको मृत्यु हुन्छ भन्ने यकिन भएपछि मात्रै उनीहरू त्यहाँबाट निस्किएर भागेका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा नुवाकोटका अजय लामा मुख्य व्यक्ति रहेको पत्ता लाग्यो भने घटनामा नुवाकोटकै मार्सल भन्ने शैलेन्द्र तामाङ, गोरखाका दीपक बरामु र गोरखाकै निश्चल सुनार प्रत्यक्ष संलग्न रहेको पत्ता लाग्यो । घटनामा प्रयोग भएको मोटरसाइकल गोरखाकै सिजन अधिकारीको समेत संलग्नता खुलेको थियो ।

त्यस लगत्तै परिचालित प्रहरीले सुरुमा मार्सल भन्ने शैलेन्द्र तामाङलाई पक्राउ ग¥यो । शैलेन्द्रकै बयान अनुसार घटनामा प्रत्यक्ष संलग्न रहेका अजय लामा, दीपक बरामु र निश्चल सुनारको खोजी भयो ।

घटना लगत्तै काठमाडौंबाट भागेर झापा पुगेका अजय लामा, दीपक बरामु र निश्चल सुनारमध्ये निश्चल सुनारलाई झापाबाट प्रहरीले पक्राउ ग¥यो । तीनै जना अभियुक्त सँगै रहेको भए पनि निश्चललाई समात्दै गर्दा अजय र दीपक बरामु भने त्यहाँबाट पनि भाग्न सफल भए ।

त्यसपछि प्राप्त जाहेरी, घटनाको अनुसन्धान तथा शैलेन्द्र र निश्चलको बयानका आधारमा सङ्गठित अपराधमा अनुसन्धान गर्दै जाँदा घटनामा घाइते विक्रम लामाको पूर्व भाउजू लक्ष्मी राई, लक्ष्मीका हालका पति रमेश सिलवाल, गण्डकी प्रदेशका निलम्बित प्रदेश सभा सदस्य दीपक मनाङेका स्वकीय सचिव रहेका टिकाराम भण्डारी, सिजल अधिकारी र पदम राईको पनि संलग्नता रहेको खुल्यो ।

सुरुवाती चरणमा पक्राउ परेकाहरूले अजय लामासँगको व्यक्तिगत रिसिइबिका कारण आक्रमण गरेको बताए पनि यसको पछाडि पूर्व भाउजू लक्ष्मी राईसँगको रिसिइबिका कारण उनले नै ‘खेताला’ लगाएर हत्या गर्ने उद्देश्यबाट आक्रमण गर्न लगाइएको आरोप छ ।

प्रहरीले गरेको अनुसन्धानमा पनि घटनामा प्रत्यक्ष संलग्न मुख्य अभियुक्त अजय लामासँग लक्ष्मी राई, रमेश सिलवाल र टिकाराम भण्डारीको बारम्बार कुरा भएको पाइएको छ । यिनीहरूको मोबाइल कल डिटेल र लोकेसन हेर्दा उनीहरूबिच घटनाको आसपास पटक पटक कुराकानी र भेटघाट भएको पाइएको छ ।

तर जति बेला घटना भयो, त्यसको तीन दिन अगाडि नै लक्ष्मी राई र रमेश सिलवाल भने नेपाल छाडेर भागिसकेका थिए ।
यता प्रहरीले घटनामा संलग्न भन्दै दीपक मनाङेका स्वकीय सचिवसमेत रहिसकेका एमालेनिकट युवा सङ्गठनका नेता टिकाराम भण्डारीलाई पौष १२ गते पक्राउ अनुमति लिई पक्राउ गरी सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्‍यो ।

अनुसन्धानका क्रममा टिकाराम भण्डारीले घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै बयान दिए । लक्ष्मी राई आफ्नो व्यावसायिक साझेदार रहेको तथा रमेश सिलवालसँग लक्ष्मी राईमार्फत चिनजान भएको तर अजय लामा लगायतका व्यक्तिसँग चिनजान नभएको भनी बयान दिएका छन् ।

हेर्नुहोस् टिकाराम भण्डारीले प्रहरीसमक्ष गरेको बयानको केही अंश :

‘जाहेरवाला सावित्री लामालाई मैले चिनेको छैन, घाइते विक्रम लामालाई चिन्छु, जाहेरवाला र घाइतेसँग मेरो कुनै रिसइवी छैन । प्रतिवादी लक्ष्मी राई र रमेश सिलवालसँग चिनजान रहेको छ, सिजन अधिकारी, पदम राई, अजय लामा, दीपक बरामु, निश्चल सुनार र मार्सल भन्ने शैलेन्द्र तामाङलाई मैले चिनेको छैन । करिब एक वर्ष अगाडि क्लब र फिल्म कम्पनी बनाउनको लागि हामीलाई व्यवसायी लगानीकर्ताको आवश्यक परेको समयमा बालुवाटारस्थित ओपेरा होटेलमा हेमन्त धामीमार्फत लक्ष्मी राईसँग पहिलो पटक देख भेट भई चिनजान भएको हो । हेमन्त धामीको यकिन नाम थर वतन तथा सम्पर्क नम्बर मलाई थाहा छैन । होटेलमा एक छिन भेटेको हुनाले सम्पर्क नम्बर राखिएन । हिमानी मगरको घर थाहा भएन । लक्ष्मी राई मार्फत रमेश सिलवालसँग चिनजान भएको हो । प्रतिवादी लक्ष्मी राईसँग मिली व्यवसाय गर्ने तयारी गरेको छु । निज लक्ष्मी राईको नेपालमा भएको व्यवसायको कारोबार हिमानी मगरले गर्ने गरेकी छिन् । लक्ष्मी राईको आपराधिक क्रियाकलापमा मेरो कुनै संलग्नता रहेको छैन । प्रतिवादी लक्ष्मी राई र रमेश सिलवालसँग चितवनको जग्गा र कङ्गारु फिल्म बनाउने विषयलाई लिएर कुराकानी भएको हो । रमेश सिलवालले अजय लामा र सिजन अधिकारीसँग सम्पर्क गरेको सम्बन्धमा मलाई थाहा थिएन । पीडित तथा घाइते विक्रम लामाले निवेदनसाथ पेस गरेको भिडियो रेकर्ड र फोटोहरू देखाउँदा देखेँ हेरेँ । मैले घाइते विक्रम लामासँग भएको कुराकानी सहितको अडियो रेकर्ड सुने । उक्त अडियो रेकर्ड घाइते विक्रम लामालाई हस्पिटलमा भेट्न जाँदा भएको वार्तालाप हो, सुनी सनाखत समेत गरिदिएँ । विक्रम लामाको घर अगाडि ३ जनाले वारदात पूर्व ज्यान मार्ने नियतले विक्रम लामालाई निगरानी गरेको फोटो सम्बन्धमा मलाई थाहा भएन । फोटोमा देखिएका ३ जना व्यक्तिहरू मैले चिन्दिन र उक्त फोटोमा देखिएको व्यक्ति म होइन । विक्रम लामालाई ज्यान मार्ने नियतले पूर्व योजना बनाउन म प्रतिवादी लक्ष्मी राई र रमेश सिलवाललाई भेट्न गएको होइन । उत्तरगया म्युजिक एन्ड फिल्मस कम्पनी, ठमेलमा बन्दै गरेको क्लबको विषय र चितवनको जग्गाको विषयलाई लिएर हर हिसाब गर्नु पर्ने भएकोले लक्ष्मी राईले रमेश सिलवालको फोनबाट मलाई फोन सम्पर्क गरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगन्ज स्थितमा रहेको साम्बला होटेलमा बोलाएको थिए । होटेलमा पुगी लक्ष्मी राईलाई टेलिफोन सम्पर्क गर्दा निजको फोन नउठेपछि उक्त होटेलबाट म फर्किएको हुँ । उत्तरगया म्युजिक एन्ड फिल्मस कम्पनीको सञ्चालक रसुवा उत्तरगया गापा घर भएका धन बहादुर गुरुङ, प्रतिवादी लक्ष्मी राई र म टिकाराम भण्डारी छौँ । क्लब सञ्चालकहरू रसुवा घर भएका धनबहादुर गुरुङ, काभ्रेपलान्चोक घर भएका राजेश विष्ट, कास्की घर भएका लालकाजी गुरुङ र म टिकाराम भण्डारी हौँ । घाइते विक्रम लामालाई लागु औषध र सुन तस्करीमा फसाउन मैले कुनै योजना बनाएको छैन । प्रस्तुत ज्यान मार्ने उद्योग मुद्दामा मेरो कुनै संलग्नता रहेको पनि छैन । हालको प्रतिवादी लक्ष्मी राई सँग हिँडडुल गरेको विषयलाई लिएर निजले मलाई उक्त आरोप लगाएको हुनु पर्दछ ।’

तर टिकाराम भण्डारीले घटनामा आफ्नो संलग्नता अस्वीकार गरे पनि प्रहरीले भने घटनामा टिकाराम भण्डारीको संलग्नता रहेको दाबी गरेको छ ।

घाइते विक्रम लामाकी दिदी सावित्री लामाले प्रहरीमा दिएको जाहेरीमा पनि टिकाराम भण्डारीले यस अगाडि पनि विक्रम लामालाई फसाउन खोजेको उल्लेख छ ।

कात्तिकमा यस घटना हुनुभन्दा एक वर्ष अगाडि टिकाराम भण्डारीले प्रहरीलाई गलत सूचना दिएर फसाउन खोजेको बयान जाहेरीमा उल्लेख छ ।

सावित्रीको जाहेरीको एक अंश यस्तो छ :

‘… उक्त घटना हुनु भन्दा करिब एक वर्ष अगाडि समेत मेरो भाइ विक्रम लामालाई लागु औषधमा फसाउन खोज्ने व्यक्तिहरूमा निज अन्यायी टिकाराम भण्डारीको संलग्नता थियो भनी सो बेला प्रहरीले सोधपुछ गरेका व्यक्ति सागर कडायतले बताएका थिए । सो बेला टिकाराम भण्डारी चिनजान कै व्यक्ति भएका र ठोस प्रमाण नभएका कारण त्यस बेला मेरो भाइ विक्रम लामाले खास चासो दिएका थिएनन् ।’

करिब एक वर्ष अगाडि टिकाराम भण्डारीले दिएको सूचनाकै आधारमा विक्रम लामाको घरमा करिब २ दर्जन प्रहरी पुगेर घर घेरा हाली खानतलासी गरेको थियो । ठुलो मात्रामा लागू औषध रहेको र लागू औषधको कारोबारी रहेको भन्दै भण्डारीले नै गलत सूचना दिएर तर्साएको जाहेरीमा उल्लेख छ ।

यसरी कल डिटेल रिपोर्ट, पहिलेका घटनाक्रम, प्रतिवादी लक्ष्मी राई तथा रमेश सिलवालसँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क देखिई मुद्दा चलाउनुपर्ने प्रहरीको प्रतिवेदन आएको भए पनि राजनीतिक पहुँचका आधारमा टिकाराम भण्डारीलाई भने सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरी उन्मुक्ति दिएको छ ।…

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको प्रतिवेदनमा टिकाराम भण्डारीको समेत संलग्नता रहेको भन्दै उल्लेख गरिएको छ ।

प्रहरी प्रतिवेदनमा भनिएको छ,

‘… मिति २०८० साल असोज महिनामा केन्द्रीय अनुसन्धान ब्युरोमा टिकाराम भण्डारीले म विक्रम लामाले सुनको तस्करी गर्दछ भनेर निवेदन दिएको, पुन १ महिना पछाडि टिकाराम भण्डारीले फोन मार्फत लागु औषध नियन्त्रण ब्युरोमा कल गरी विक्रम लामाले लागु औषध ड्रक्सको कारोबार गर्दछ भनी जानकारी दिएको हुँदा लागु औषध नियन्त्रण ब्युरोको टोली मेरो घरमा आई खोजतलास समेत गरेर गएका थिए । पछिल्लो समयमा मलाई सुन काण्ड र लागु औषधमा फसाइदिने भनी विभिन्न अपरिचित व्यक्तिहरूले फोन सम्पर्क गरी धाक धम्की दिने गरेको हुँदा मैले केन्द्रीय अनुसन्धान ब्युरोमा सो कुराको जानकारी गराएको थिएँ, प्रतिवादी लक्ष्मी राई र टिकाराम भण्डारीको राम्रो सम्बन्ध रहेको हुँदा प्रतिवादी लक्ष्मी राईले पछिल्लो समयमा मलाई गुन्डाहरूको प्रयोग गरी ज्यान माग्नेसम्मको धम्की दिने गरेको भनी घाइतेको कागजबाट खुलेको, बेलायतमा बसोबास गर्ने लक्ष्मी राई र रमेश सिलवाल वारदात घटना घट्नु अगाडि नेपालमा आई होटेल साम्बलामा बसेको होटेल रेकर्डबाट देखिन्छ, नेपालमा बस्दा प्रतिवादी लक्ष्मी राई र रमेश सिलवालको टिकाराम भण्डारीसँग टेलिफोन सम्पर्क भएको देखिन्छ ।’

घटना प्रत्यक्ष संलग्नता अस्वीकार गरे पनि घटनाका समय आरोपित वा अन्य अभियुक्तसँग सिधा सम्पर्क रहेको, पहिले पनि कहिले लागू औषधको मुद्दा त कहिले सुन तस्करीमा फसाइदिन्छु भन्दै सिआइबी लगायतमा उजुरी दिई उजुरी झूटो रहेको भन्दै प्रहरीले पक्राउ गर्न खोज्दा टिकाराम भण्डारी फरार रहेको पाइएको छ । त्यसबाहेक यसअघि विक्रम लामालाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोधपुछ पर्दा टिकाराम भण्डारीले धम्काउन लगाएको भनी बयान दिएका कारणबाट समेत विक्रम लामामाथि आक्रमण हुनुमा टिकाराम भण्डारीसमेतको संलग्नता रहेको दाबी गर्दै प्रहरीले टिकाराम भण्डारीलाई समेत प्रतिवादी बनाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो ।

सरकारी वकिलले दिए उन्मुक्ति

प्रहरीले टिकाराम भण्डारीसमेतलाई प्रतिवादी बनाई मुद्दा चलाउनु पर्ने राय दिएको भए पनि सरकारी वकिलले भने भण्डारीलाई उन्मुक्ति दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता रमेश भट्टराईले भने भण्डारीको घटनामा प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

टिकाराम भण्डारी र अर्का प्रतिवादी बनाइएका पदम राईलाई मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले भनेको छ
‘प्रतिवादीहरू टिकाराम भण्डारी र पदम राईको हकमा प्रस्तुत कसुरमा निजहरूको संलग्नता पुष्टि हुने तथ्ययुक्त प्रमाणको अभावमा निजहरू उपर मुद्दा नचल्ने निर्णय गरिएको ब्यहोरा समेत सादर अनुरोध गरिएको छ ।’

यसरी कल डिटेल रिपोर्ट, पहिलेका घटनाक्रम, प्रतिवादी लक्ष्मी राई तथा रमेश सिलवालसँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क देखिई मुद्दा चलाउनुपर्ने प्रहरीको प्रतिवेदन आएको भए पनि राजनीतिक पहुँचका आधारमा टिकाराम भण्डारीलाई भने सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरी उन्मुक्ति दिएको छ ।

कहाँ छन् मुख्य अभियुक्त अजय लामा ?

यता लाजिम्पाट घटनाका मुख्य अभियुक्त अजय लामा भने फरार छन् । अजय सँगै अर्का प्रतिवादी दीपक बरामु पनि फरार रहेका छन् । अन्तिम पटक झापाको बिर्तामोडमा देखिएका उनीहरू निश्चल सुनारलाई पक्राउ गरेसँगै फरार भएका थिए । तर त्यसपछि उनी कहाँ छन्, पत्ता लागेको छैन ।

घटनाको अनुसन्धान र अभियोजन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले अजयको खोजीमा तदारुकता देखाएको छैन । यो घटनाको मुख्य कडी रहेका लामालाई पक्राउ नगरेसम्म घटनाको कारण खुल्ने अवस्था छैन । घटनामा लक्ष्मी राईको संलग्नता हो कि होइन, अजय लामाले के कति कारणले विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका हुन् भन्ने थाहा पाउन पनि अजय लामालाई पक्राउ गरी नेपाल ल्याउनुको विकल्प छैन ।

यस घटनामा प्रतिवादी बनाइएकामध्ये सिजन अधिकारी ५० हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन् । मार्सल भन्ने शैलेन्द्र तामाङ र निश्चल सुनार भने पुर्पक्षका लागि कारागारमा छन् ।

अजयमाथि यसअघि चलेको थियो ४ मुद्दा

यस घटनाका मुख्य अभियुक्त अजय लामामाथि यसअघि नै ४ वटा मुद्दा चलेको प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस)मा देखिन्छ । अजय पेसेवर आपराधिक पृष्ठभूमिको व्यक्ति भएको र यसअघि डाँका चोरी, केही सार्वजनिक अपराध र लिखतसम्बन्धी कसुर गरेको पाइएको छ ।

अजय लामा पहिलो पटक २०६८ पुस ११ गते केही सार्वजनिक अपराधमा पक्राउ परेको देखिन्छ । तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंले अजयमाथि केही सार्वजनिक अपराधमा म्याद थप गरेर अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालयमा मुद्दा बुझाएको पाइएको छ ।

त्यसै गरी २०७६ माघ २७ गते अजयमाथि लिखतसम्बन्धी कसुरमा प्रहरी वृत्त गौशालाले मुद्दा चलाएको पाइएको छ । सो मुद्दामा अजय लामा करिब ४ वर्ष जेल बसेर निस्किएको पाइएको छ ।

त्यसै गरी २०८० पुस ९ गते अजयमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले केही सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाएको पाइएको छ ।

अजय लामाको विरुद्धमा भीम कुमारी लिम्बुको जाहेरीबाट ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०७८ पुस २९ गते फैसला हुँदा ३ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

त्यसै गरी अभद्र व्यवहारको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०८० चैत्र ४ गते फैसला हुँदा २२ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

त्यसै गरी अभद्र व्यवहारको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०८० चैत्र ४ गते फैसला हुँदा २२ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । अजयमाथि चलेको डाँका चोरीको मुद्दामा भने के भएको छ, हालसम्म खुल्न सकेको छैन ।
फरार रहेका प्रतिवादी लक्ष्मी राई पनि पहिले नै अदालतबाट दोषी ठहर भइसकेकी व्यक्ति हुन् । उनी विरुद्ध अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७९ कात्तिक ६ फैसला गर्दै ४ हजार २ सय रुपैयाँ जरिवाना तोकेको थियो भने रमेश सिलवाल बैङ्किङ कसुरको मुद्दा दोषी ठहर भएका प्रतिवादी हुन् ।

हामी सुस्ताएका छैनौँ : काठमाडौं प्रहरी प्रमुख

लाजिम्पाट जस्तो सुरक्षित मानिएको र संवेदनशील स्थानमै बिहान ११ बजे भएको जघन्य अपराधको घटनामा संलग्न रहेका मुख्य प्रतिवादी अजय लामा घटना लगत्तै फरार रहेको भए पनि काठमाडौं प्रहरीले खोजी नगरेका पीडितको गुनासो छ ।

पीडित विक्रम लामाले काठमाडौं प्रहरीले आवश्यक सक्रियता नदेखाउँदा आफूमाथि अझै खतरा रहेको बताएका छन् । घटनापछि फरार रहेका सिजल अधिकारीलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेर काठमाडौं ल्याए पनि अजय लामा भने कहाँ छन् भन्नेसम्म प्रहरीले सुइँको पाएको छैन । अजयको खोजीमा आलस्यता देखाएको आरोप लागिरहँदा काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरे भने आफूहरू सुतेर नबसेको बताउँछन् । उनी भन्छन्, ‘प्रहरीले आफ्नो काम गरिरहेकै छ, हामी अजयको खोजीमा निरन्तर लागिरहेका छौँ ।’

बसन्त रजौरे, जिल्ला प्रहरी परिसर काठमाडौं

तपाईँहरू सुस्ताएको हो भन्ने लोकपथको प्रश्नमा रजौरेले भने, ‘हामी सुस्ताएको छैनौँ र सुस्ताउने छैनौँ, हामी अजयको खोजीमा सक्रिय छौँ र एक दिन उसलाई जसरी पनि ल्याउँछौँ ।’

झापाको बिर्तामोडबाट निश्चल सुनारलाई पक्राउ गर्न तथा भारतको नयाँ दिल्लीबाट सिजल अधिकारीलाई ल्याउन भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी खटिएको थियो । सिजललाई कञ्चनपुरबाट ल्याइएको भनिए पनि उनलाई नयाँ दिल्लीबाट अपराध महाशाखाको टोलीले ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?