पर्सा । मधेस विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि जनप्रशासन सङ्कायतर्फ स्नातकोत्तर तह (एमपिए) र स्नातक तहमा उद्यमशीलता विषयमा नयाँ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
गत आर्थिक वर्षदेखि कानुन सङ्कायतर्फ स्नातक तहअन्तर्गत बिएएलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपिएम कक्षा सञ्चालन गर्दै आएकामा विद्यार्थीको आकर्षण बढ्दै गएपछि विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि जनप्रशासन सङ्कायतर्फ स्नातकोत्तर तह र उद्यमशीलता विषयको स्नातक तहको कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
‘ती दुवै सङ्कायको कक्षा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम निर्माण भइसकेको छ, ‘ विश्वविद्यालयका रजिस्ट्रार विजयकुमार यादवले भने, ‘एमपिए कक्षाका लागि आगामी फागुनदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्छौँ ।’उनका अनुसार आगामी शैक्षिक सत्रदेखि ‘कमाउँदै पढ्दै’ कार्यक्रमअन्तर्गत मधेस प्रदेशका आठ वटै जिल्लाका सामुदायिक विद्यालयमा सञ्चालन गरिने उद्यमशीलता विषयको स्नातक तहको पठनपाठनको तयारी भइरहेको हो ।
आर्थिक अभावका कारण स्नातक तह अध्ययन गर्न नसकेका ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरी उद्यमशीलता विषयको कक्षा सञ्चालन गर्न लागिएको बताउँदै रजिस्ट्रार यादवले पहिलो वर्ष प्रदेशका चार वटा जिल्लामा र अर्को वर्ष थप चार जिल्लामा कक्षा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार मधेस विश्वविद्यालयले सङ्घीयता अध्ययन प्रशिक्षण केन्द्र स्थापना गरी सङ्घीयता विषयको अध्ययन र अनुसन्धानको विषयमा पनि कक्षा सञ्चालन गर्न लागेको छ ।
हालै प्रदेशको बारा, पर्सा, रौतहट र धनुषा जिल्लामा सरकारी निकायका प्रमुख, कर्मचारी तथा सरोकार भएकासँग सङ्घीयता विषयको अध्ययन र अनुसन्धानको विषयमा प्रारम्भिक चरणको छलफल गरिएको रजिस्ट्रार यादवले बताए ।
हाल उक्त विश्वविद्यालयमा बिएएलएलबी प्रथम वर्षमा एक सय १० र दोस्रो वर्षमा एक सय १० जना तथा जनप्रशासन सङ्कायतर्फ पहिलो वर्षमा २५ र दोस्रो वर्षमा २० जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयलाई कानुन सङ्कायतर्फ एक सय १०, जनप्रशासनतर्फ ५५ वटा कोटा निर्धारण गरिएको थियो ।
विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भई नसकेकाले काठमाडौं विश्व विद्यालयको समन्वयमा दुवै सङ्कायको पठनपाठन सञ्चालन गर्दै आइएको रजिस्ट्रार यादवले जानकारी दिए । विसं २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ भदौ २२ गते विश्वविद्यालय स्थापन गरी दुवै सङ्कायको पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङ्गको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।
अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिने मान्यताअनुरुप विश्वविद्यालयलाई प्रदेशमा पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्रका रूपमा स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका उपकुलपति प्राडा दिपकबहादुर शाक्यले बताए ।
‘हामीले सञ्चालन गरेको कानुन र जनप्रशासन सङ्कायको कक्षामा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ, ‘उनले भने, ‘त्यसैले आगामी दिनमा मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत चिकित्सा र स्वास्थ्यसम्बन्धी कक्षा पनि सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।’
तत्कालका लागि वीरगञ्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पताललाई आधार बनाएर एमबीबिएस कक्षा सञ्चालन गर्ने योजना बनाएर प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययनको तयारी गरिएको उपकुलपति प्राडा शाक्यले जानकारी दिए। उच्च शिक्षालाई अनुसन्धामूलक बनाउने उद्देश्यले फार्मेसी, विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।
प्रदेशका ग्रामीण क्षेत्रका जनतालाई उच्च शिक्षामा पहुँच पुर्याउने, शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने उद्देश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेशमा ‘मधेस स्कील स्कुल’ स्थापना गर्ने विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया