चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आगलागीमा परी २२ जनाको मृत्यु 

लोकपथ
14
Shares

काठमाडौं । चालु आर्थिक वर्ष (२०८०/०८१) सुरु भए यता हालसम्म आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ । 

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले आगलागीका १ हजार ४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको बताएका हुन् । 

उनकाअनुसार आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ जना पुरुष र १६ जना महिला रहेका छन् । उनले यही अवधिमा आगलागीका घटनाबाट १ हजार ६ सय ५६ घर परिवार प्रभावित भएको बताए ।

आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबरको क्षति भएको सहसचिव पाण्डेले उल्लेख गरे । 

सहसचिव पाण्डेले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको बताए । उनले सोही अवधिभर आगलागीमा परी १७९ तथा डढेलाबाट २६ जना घाइते भएको बताए । 

उनले उक्त तीन महिनाको अवधिमा आगलागी एवं डढेलोबाट १ अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरे । उनले नेपालमा लाग्ने डढेलो मानवीय हेलचेक्र्याइँ र नियोजित रूपमा लगाउने गरिएको बताए । उनले आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना बिस्तार र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । 

उनले आगलागीजन्य विपद् न्युनिकरणकाल लागि स्थानीय प्रशासनहरूलाई आवश्यक निर्देशन दिइएको समेत बताए । सहसचिव पाण्डेले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षा परिचालनको व्यवस्था मिलाइएको बताए । 

जिल्ला स्तरमा डढेलो तथा आगलागी नियन्त्रणको लागि कार्य योजना बनाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको बताए । २०८१ साउन १ गतदेखिको पहिलो ६ महिनामा १ हजार ६५६ परिवार आगलागीबाट प्रभावित भएका छन्  । जसमध्ये आंशिक ८८ र पूर्ण क्षति २२८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?