रविको थुनछेक बहस जारी : कुन पक्षबाट कसले गर्नेछन् बहस ?

लोकपथ
371
Shares

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस जारी रहेको छ ।

रुपन्देही जिल्ला अदालतमा एक घण्टा भन्दा बढी समयदेखि थुनछेक बहस जारी रहेको हो । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा शुक्रबार रविको बयान र दुवै पक्षको बहस सकिएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा मुद्दा दायर भएको थियो । अहिले जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस भइरहेको हो ।

बहसपछि लामिछानेले उक्त मुद्दा थुनामा बसेर लड्ने वा बाहिर बसेर लड्ने भन्ने विषयमा आदेश हुनेछ । त्यस्तै आजै पीडित पक्षबाट बहस सकिए भोलि प्रतिवादीतर्फका वकिलहरुले बहस गर्नेछन् । त्यस्तै भोलिसम्म जवाफी बहस सकियो भने भोलि नै आदेश आउनेछ यदी नसकिएमा बहस लम्बिनेछ ।

उक्त मुद्दामा सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । साथै नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधीवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्नेछन् ।

उनीहरु सबैको बहस सकिएसँगै प्रतिवादी रविका तर्फबाट वरिष्ट अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, नारायणदत्त कँडेल र अधिवक्ता पशुपति भण्डारीसहितले बहस गर्नेछन् ।

लामिछानेले यसअघि नै दुई अदालतबाट धरौटीमा रिहा भइसकेका छन् । जिल्ला अदालत कास्की र जिल्ला अदालत काठमाडौंबाट क्रमशः ६५ लाख र ६० लाख धरौटीमा रिहा गर्न आदेश आएसँगै लामिछाने थुना बाहिर रहेका छन् । त्यसो त बुटवल बाहेक अन्य २ अदालतमा समेत मुद्दा फेस गर्न बाँकी नै रहेको छ । चितवन जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा समेत सहकारी ठगीमा लामिछानेविरुद्ध मुद्दा बाँकी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?