काठमाडौं । करिब ३ महिनाअगाडि काठमाडौंको लाजिम्पाटमा एक घरजग्गा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार गरेको घटनामा संलग्न अजय लामा र दीपक बरामूलाई प्रहरीले भारतको हरियाणाबाट पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान महाशाखाका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले दुबैलाई पक्राउ गरेको हो ।
आज केही समयपछि प्रहरीले उनीहरुलाई काठमाडौं प्रहरी परिसरलाई बुझाउने भएको छ ।
गत कात्तिक ११ गते बिहान ११ बजेर ५० मिनेट जाँदा घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भएको थियो । लाजिम्पाटको पानीपोखरीस्थित इनोभा अस्पतालको पार्किङमा कार रोकेर निस्किएलगत्तै व्यवसायी विक्रम लामामाथि अन्धाधुन्ध रड प्रहार भएको थियो । लामाको मृत्यु हुन्छ भन्ने यकिन भएपछि मात्रै उनीहरू त्यहाँबाट निस्किएर भागेका थिए ।
घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा नुवाकोटका अजय लामा मुख्य व्यक्ति रहेको पत्ता लागेको थियो । यस्तै, घटनामा नुवाकोटकै मार्सल भन्ने शैलेन्द्र तामाङ, गोरखाका बरामू र गोरखाकै निश्चल सुनारको प्रत्यक्ष संलग्नता रहेको खुलेको थियो ।
घटनामा प्रयोग भएको मोटरसाइकल गोरखाकै सिजन अधिकारीको समेत संलग्नता खुलेको थियो ।
त्यस लगत्तै परिचालित प्रहरीले सुरुमा मार्सल भन्ने शैलेन्द्र तामाङलाई पक्राउ गरेको थियो । शैलेन्द्रकै बयान अनुसार घटनामा प्रत्यक्ष संलग्न रहेका अजय लामा, दीपक बरामु र निश्चल सुनारको खोजी भएको थियो ।
घटना लगत्तै काठमाडौंबाट भागेर झापा पुगेका अजय लामा, दीपक बरामु र निश्चल सुनारमध्ये निश्चल सुनारलाई झापाबाट प्रहरीले पक्राउ गरेको थियो भने तीनै जना अभियुक्त सँगै रहेको भए पनि निश्चललाई समात्दै गर्दा अजय र दीपक बरामु भने त्यहाँबाट पनि भाग्न सफल भएका थिए ।
त्यसपछि प्राप्त जाहेरी, घटनाको अनुसन्धान तथा शैलेन्द्र र निश्चलको बयानका आधारमा सङ्गठित अपराधमा अनुसन्धान गर्दै जाँदा घटनामा घाइते विक्रम लामाको पूर्व भाउजू लक्ष्मी राई, लक्ष्मीका हालका पति रमेश सिलवाल, गण्डकी प्रदेशका निलम्बित प्रदेश सभा सदस्य दीपक मनाङेका स्वकीय सचिव रहेका टिकाराम भण्डारी, सिजल अधिकारी र पदम राईको पनि संलग्नता रहेको खुलेको थियो ।
सुरुवाती चरणमा पक्राउ परेकाहरूले अजय लामासँगको व्यक्तिगत रिसिइबिका कारण आक्रमण गरेको बताए पनि यसको पछाडि पूर्व भाउजू लक्ष्मी राईसँगको रिसिइबिका कारण उनले नै ‘खेताला’ लगाएर हत्या गर्ने उद्देश्यबाट आक्रमण गर्न लगाइएको आरोप छ ।
प्रहरीले गरेको अनुसन्धानमा पनि घटनामा प्रत्यक्ष संलग्न मुख्य अभियुक्त अजय लामासँग लक्ष्मी राई, रमेश सिलवाल र टिकाराम भण्डारीको बारम्बार कुरा भएको पाइएको थियो । यिनीहरूको मोबाइल कल डिटेल र लोकेसन हेर्दा उनीहरूबिच घटनाको आसपास पटक पटक कुराकानी र भेटघाट भएको पाइएको थियो ।
यो पनि…
लाजिम्पाट रड प्रहार प्रकरण : कहाँ छन् मुख्य अभियुक्त अजय लामा ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया