काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार तेस्रो दिन पनि भौतिकरुपमा कुनै पनि कार्यक्रममा सहभागी नहुने भएका छन् । स्वास्थ्य समस्याका कारण बुधबार र बिहीबार कुनै पनि कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री ओली आज शुक्रबार भने भौतिकरुपमै विभिन्न कार्यक्रममा सहभागी हुने जानकारी प्रधानमन्त्री ओलीको सचिवालयले गराएको थियो ।
तर चिकित्सकले अझै बाहिरफेर ननिस्कन भनेकाले आजका लागि निर्धारित सबै कार्यक्रम प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवासबाटै भर्चुअल रूपमा गर्ने भएका छन् । ‘आजका पूर्वनिर्धारित कार्यक्रममा भर्चुअल रूपमा प्रधानमन्त्रीज्युले सम्बोधन गर्नुहुन्छ, स्वास्थ्यका कारण उहाँ फिजिकल रूपमा उपस्थित हुन नमिल्ने भो,’ सचिवालय स्रोतले भन्यो, ‘चिकित्सकले फिजिकल जाँदा गाह्रो हुने भनेकाले उहाँ बाहिर ननिस्किने हुनुभएको हो ।’
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री ओली आज शुक्रबार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटनमा सरिक भई दिउँसो सवा १२ बजे तिनाउँ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटनमा जाने कार्यक्रम तय भएको थियो । त्यसपछि दिउँसो १२ बजेर ५० मिनेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबामा निर्मित सुरुङमार्गको ब्रेक थु्र कार्यक्रममा जाने तय भएको थियो । दिउँसो सवा १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्नत्तिको शिलान्यास कार्यक्रममा जाने तय भएको थियो ।
घाँटीमा समस्या भई बोल्न नसक्ने अवस्थाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार र बिहीबारका लागि पूर्वनिर्धारित सबै कार्यक्रम रद्ध गरिएको थियो । उनलाई बुधबार बिहानदेखि नै घाँटीमा समस्या देखिएको थियो । बुधबारका लागि पूर्वनिर्धारित सशस्त्र प्रहरी बलको २४ औं वार्षिकोत्सव कार्यक्रममा पनि उनी सहभागी हुन सकेका थिएनन् ।
सशस्त्र प्रहरी बलको वार्षिकोत्सवमा प्रधानमन्त्रीलाई प्रमुख अतिथी बनाउने प्रचलन नै छ । सशस्त्रको वार्षिकोत्सव हरेक वर्ष बिहान र बेलुकी गरी दुई सिफ्टमा गर्ने चलन भएपनि यो वर्ष प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बिहानको सिफ्टको कार्यक्रम अघिल्लै दिन गरिएको थियो । साँझको कार्यक्रम पनि बिहान ११ बजेका लागि तय गरिएको थियो ।
तर, बिहानको लागि तय गरिएको कार्यक्रममा पनि प्रधानमन्त्री ओली स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेपछि गृहमन्त्री रमेश लेखकलाई प्रमुख अतिथी बनाएर कार्यक्रम समापन गरिएको थियो । स्रोतका अनुसार, मंगलबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमै एमाले सचिवालय बैठक राखेका ओली त्यसपछि भने कुनै एक व्यक्तिको जन्मदिनमा सरिक हुन गएका थिए । उनी राति २ बजेसम्म नै ती व्यक्तिको जन्मदिनमा रमाइरहेका थिए । जन्मदिनमा खाएको केक र चिसो मौसम, अनि रात्रि बसाईका कारण हिजो बिहान उठ्दा उनको घाँटीमा समस्या देखिएको थियो । उनी बोल्नै नसक्ने अवस्थामा पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया