मिति : २०८१ कात्तिक ११ गते
समय : बिहान ११ः३५ बजे
स्थान : इनोभा अस्पतालको पार्किङ, लाजिम्पाट
नुवाकोटका घरजग्गा व्यवसायी विक्रम लामा सदाझैँ उक्त दिन पनि बिहान खाना खाएर टोखास्थित आफ्नो वासस्थानबाट कार्यालयका लागि लाजिम्पाटतर्फ निस्कन्छन् । आफ्नै गाडीमा उनी लाजिम्पाटतर्फ लाग्दा बाटोमा दुई युवाहरूले पछ्याइरहेका हुन्छन्, तर विक्रमलाई थाहा हुँदैन ।
उनी सधैँ जस्तै गरी लाजिम्पाटको पानीपोखरीमा रहेको इनोभा अस्पतालको पार्किङमा गाडी रोकेर बाहिर निस्कन्छन् ।
गाडीबाट बाहिर निस्कनेबित्तिकै हेलमेट लगाएका दुई युवाले विक्रममाथि अन्धाधुन्ध रड र बाइकको शकमा प्रयोग हुने फलामको डन्डीले प्रहार हुन्छ । हात गोडा, ढाड मात्रै होइन, टाउकोमा समेत पटक पटक प्रहार गरेपछि विक्रम त्यहीँ ढले । विक्रम ढल्नै लाग्दा पुनः थप दुई युवा आएर विक्रममाथि आक्रमण गरे । विक्रम अचेत अवस्थामा पुगी मृत्यु नै हुन लागेपछि त्यहाँ कसैले हल्ला गरेपछि आक्रमणमा संलग्न युवाहरू त्यहाँबाट भागे ।
……
आक्रमणको सूचना आएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराधमहाशाखा)को प्रहरी टोली परिचालन भएर आक्रमणकारीको खोजी सुरु गर्यो ।
सुरुवाती चरणमा कसले कसले किन आक्रमण गरेको थाहा भएन । सुरुमा दुईवटा गुन्डा समूहको टोलीबीच ‘ग्याङ फाइट’को आशंका गरियो ।
यहीबीचमा प्रहरीले विक्रमको गाडीलाई पिछा गरेको मोटरसाइकलको नम्बर विभिन्न स्थानमा राखिएको सिसिटिभी फुटेजमा कैद भएको पायो । उक्त नम्बर थियो बा ९६ प ५९७५ को २२० सिसीको पल्सर । प्रहरी तत्कालै उक्त मोटरसाइकलको धनीको खोजीमा लाग्यो । घटनाको दिन नै धनी पत्ता लगाई सोही दिन साँझ बौद्धबाट सिन्धुपाल्चोकका अर्जुन तामाङलाई पक्राउ गर्यो ।
तर जब अर्जुन पक्राउ परे, उनी निर्दोष रहेको पत्ता लाग्यो । जुन मोटरसाइकल नम्बरको खोजी गरिएको थियो, उक्त नम्बर अर्जुन तामाङकै थियो र मोटरसाइकल पनि २२० सिसीकै थियो । फरक यत्ति थियो कि अर्जुनको मोटरसाइकल २२० सिसीको पल्सर नै भएपनि मोटरसाइकल रातो कालो रङको थियो भने घटनामा प्रयोग भएको मोटरसाइकल कालो र निलो रङको थियो । घटनाको दिन पनि अर्जुन सिन्धुपाल्चोकमै रहेको खुलेपछि प्रहरीले सामान्य सोधपुछ गरेर अर्जुनलाई छाड्यो ।
घटनाको अनुसन्धान गर्दै जाँदा उक्त घटना बेलायतमा बस्ने गरेकी पीडित विक्रम लामाकी पूर्व भाउजू लक्ष्मी राईले गराएको भन्ने पीडित परिवारको मौखिक उजुरी आयो । त्यसलगत्तै परिचालित प्रहरीले लक्ष्मीको बारेमा जानकारी बटुल्दै लक्ष्मी बसेको भनिएको महाराजगञ्जको होटल साम्बलामा पुग्यो । तर जतिबेला प्रहरी त्यहाँ पुगेको थियो, त्यसको तीन दिनअघि नै लक्ष्मी राई त्यहाँबाट ‘चेक आउट’ भइसकेकी थिइन् । लक्ष्मीको मोबाइल नम्बरको खोजतलास र अनुसन्धान गर्दा पनि उनको मोबाइल तीन दिनदेखि बन्द रहेको पायो ।
उनकै नम्बरको आधारमा प्रहरीले प्राविधिक विश्लेषण गर्दा त्यहाँ रमेश सिलवाल, टिकाराम भण्डारी, पदम राई आदिको अस्वाभाविक हिमचिम र कुराकानी फेला पर्यो त्यही क्लुलाई लिएर अस्वाभाविक कुराकानी हुने गरेका केही व्यक्तिका सम्बन्धमा प्रहरीले प्राविधिक विश्लेषण गर्दा नुवाकोटकै अजय लामाको संलग्नताको आशंका गरियो ।
बैना गरेको जग्गा नै नक्कली रहेको थाहा पाएपछि सृष्टिले प्रहरीमा उजुरी गरेकी थिइन् । सृष्टिले उजुरी गरेको थाहा पाएलगत्तै अजयले पैसा फिर्ता गरेर उजुरी फिर्ता लिन मनाउन खोजेका थिए ।…
त्यसपछि अजयको मोबाइललगायतका अन्य गतिविधिको अनुसन्धान गर्दा घटना भएको समयमा अजय त्यहीँ रहेको पायो भने त्यसपछि मोबाइल अफ गरेर भागेको पाइयो ।
अजयसँगको सम्पर्कका आधारमा घटनामा संलग्न ४ जना सम्भावित व्यक्तिहरूको खोजी तयार गर्दै गर्दा मार्सल भन्ने शैलेन्द्र तामाङ काठमाडौंबाट पक्राउ परे । मार्सल पक्राउ परेलगत्तै उनकै सूचनाका आधारमा घटनामा अजय लामालगायत ४ जनाको संलग्नता खुल्यो । साथै घटना अजयकै योजनामा भएको पत्ता लाग्यो ।
हेर्नुहोस्, लाजिम्पाट घटनामा कसको कस्तो संलग्नता छ ?र को कसरी परिचालित भए ? भन्ने लिंक चार्ट
अजय खोज्न गोरखातर्फ प्रहरी
घटनामा अजय लामाको संलग्नता पुष्टि भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली गोरखा प्रहरीसँग समन्वय गरी अजय लामालाई पक्राउ गर्न गोरखा गयो । गोरखाको आरुघाट गाउँपालिका–८ मा सिजन अधिकारीको घरमा अजय लुकेर बसेको पत्ता लागेसँगै परिचालित प्रहरी सिजनको घरमा पुग्न नपाउँदै अजय र सिजन त्यहाँबाट भागे । प्रहरी आउँदै गरेको सूचना आएपछि उनीहरू त्यहाँबाट भागिसकेका थिए । बाटो र नाकामा व्यापक सर्च अपरेसन चलाए पनि उनीहरू त्यहाँबाट उम्कन सफल भए ।
यता घटनामा प्रयोग भएको अर्को सवारीसाधन प्लेजर स्कुटरको खोजीमा रहेको प्रहरीले उक्त स्कुटरसहित अर्का शंकित व्यक्ति पनि गोरखा पुगेको पत्ता लगायो । उनीहरू थिए गोरखा नै घर भएका दीपक बरामू र निश्चल सुनार । त्यसपछि खोजी गरेको प्रहरीले उनीहरू पनि गोरखामै रहेको पत्ता लगाएपछि खोजी गर्दा उनीहरू पनि त्यही दिन भागेका थिए ।
जङ्गलको बाटो हिँडेरै मुग्लिनसम्म
गोरखाबाट भाग्न सफल भएका चारै जना जङ्गलमा भेट भई त्यहाँबाट हिँडेरै मुग्लिनसम्म पुगेको देखिन्छ । जङ्गल नै जङ्गलको बाटो हिँडेर उनीहरू गोरखाको आरुघाटबाट हिँडेर मुग्लिन पुगी त्यहाँबाट बस चढेर चितवनसम्म पुगेका थिए । पहिलो दिन चितवनमा पुगी त्यहाँको होटलमा बसेका उनीहरूमध्ये अजय लामा, दीपक बरामू र निश्चल सुनार भने त्यहाँबाट पनि भागेर झापातर्फ लागे । सिजन अधिकारी भने त्यहाँबाट अन्यत्र लागेका थिए ।
झापा पुगेपछि सुरुको एक दुई दिन काकडभिट्टामा रहेको लामा होटलमा उनीहरू बसेको रेकर्डबाट देखिन्छ । तर होटलमा बस्दा धेरै खर्च हुने भएपछि उनीहरू झापामै रहेका अजयका जेठान सागर लिम्बूको सम्पर्कमा पुग्छन् । सागरले नै एउटा फ्ल्याट खोजिदिएपछि अजय, दीपक र निश्चल झापाको बिर्तामोडमा रहेका दुर्गाप्रसाद प्रसाईंको घरमा फ्ल्याट भाडामा लिएर बस्न थाल्छन् ।
जब प्रहरी झापा पुग्यो …
विक्रम लामाको ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने अजय लामासहितका व्यक्तिहरू झापामा रहेको पत्ता लागेपछि झापा प्रहरीको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली बिर्तामोडमा पुग्यो । बिर्तामोडमा पुगी सुरुमा सागर लिम्बुलाई प्रहरीले पक्राउ ग¥यो । सागरलाई पक्राउ गरी अजयको बारेमा सोधपुछ गर्दा सुरुमा सागरले थाहा नभएको भन्ने जवाफ दिए ।
बरु यहीबीचमा सागर लिम्बु पक्राउ परेको सागरका भाइ कुमार लिम्बुले देखे । कुमारले देखेलगत्तै मोटरसाइकलमा गएर कुमारले अजयलगायतलाई सागर लिम्बु पक्राउ परेको जानकारी दिए । त्यसलगत्तै अजय र दीपक बरामू भाग्न सफल भए । निश्चल पनि झोला बोकेर भाग्नै लाग्दा पुगेको प्रहरीले निश्चललाई गेटबाटै पक्राउ गर्यो ।
झापाबाट भागेर धरान र भरतपुरको बास
झापाबाट पनि अजय र दीपक भाग्न सफल भएपछि उनीहरू छुट्टिए । झापाबाट भागेर अजय लामा धरान गए भने दीपक बरामू भरतपुरमा आए । धरानमा अजय एक होटलमा ५ दिन बसे भने दीपक भरतपुरमा रहेका भतिज नाता पर्ने अशोक बरामूको घरमा आएर लुकेर बसे ।
झापामा हुँदासम्म अजय आफ्नी आमासँग सम्पर्कमा रहेका थिए भने दीपक बरामू आफ्नी पत्नीसँग सम्पर्कमा थिए । दीपककी पत्नीले आफ्ना जेठाजुको नाममा काठमाडौंबाटै पैसा पठाएको र अजयकी आमाले सागर लिम्बुको नाममा काठमाडौंबाट ५ लाख रुपैयाँ पठाइदिएको समेत प्रहरीको अनुसन्धानमा खुलेको थियो ।
…अनि अजयले सम्झिए भारतीय साथी पप्पुलाई
धरानमा पनि ५ दिन बसेपछि खर्च बढी भएको भन्दै अजयले आफ्ना भारतीय साथी पप्पुलाई सम्पर्क गरे । भारतको लखनउ स्थायी ठेगाना भएका पप्पु भारतमा अपराध गरी नेपाल आउँदा अजयसँग बस्ने गरेका थिए । सोही सम्बन्धका आधारमा अजयले पप्पुलाई सम्पर्क गरेपछि पप्पुले अजयलाई बुटवलमा बोलायो । त्यतिबेला पप्पु पनि भारतमा अपराध गरी नेपालको नवलपरासीको गोरुसिङ्गे भन्ने स्थानमा डेरा लिएर बस्थ्यो ।
बुटवलमा पप्पु र अजय भेट भएपछि केही दिन उनीहरू गोरुसिङ्गेमै बसे । तर गोरुसिङ्गेमा पनि खतरा देखेपछि अजय र पप्पु त्यहाँबाट पनि भागेर लखनउ गए । लखनउमा पप्पु आफ्नो घरमा बस्यो भने अजयचाहिँ कहिले होटल त कहिले धर्मशालामा गएर बस्यो । गोरुसिङ्गेबाट लखनउ जानु अगाडिसम्म अजयसँग ३५ हजार भारतीय रुपैयाँ थियो । तर लखनउमा होटलमा बस्नुपर्ने भएपछि पैसा सकिँदै गयो ।
सिजन अधिकारी पक्राउपछि लखनउबाट पनि भागे अजय
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको प्रहरी टोलीले दुबई भाग्नै लागेको अवस्थामा सिजन अधिकारीलाई नयाँ दिल्लीबाट पक्राउ गर्यो । गत जनवरी ७ अर्थात् पुस २३ गते सिजन दिल्लीबाट पक्राउ परेलगत्तै अजयले लखनउमा पनि सुरक्षा खतरा रहेको देखेपछि दीपक बरामूलाई समेत लखनउ बोलाए । अनि त्यहाँबाट भागेर पञ्जाव, चन्डीगढ र हिमाञ्चलको बोर्डरमा पर्ने हरियाणाको पञ्चकुला भन्ने स्थानमा पुगे ।
अजयको बुवाको मितको दाइ पञ्चकुलामा बस्ने गरेको थाहा पाएपछि अजय उनैलाई सम्पर्क गरी दीपक बरामूलाई समेत साथमा लिएर करिब १५ दिन पहिले पञ्चकुला पुगेका थिए ।
यस्तो छ आक्रमणपछि अजय कहाँ कहाँ पुगे भन्ने टाइमलाइन
तर अपराध महाशाखाको टोलीले अजयमाथि निगरानी गरिरहेको अवस्थामा विभिन्न प्राविधिक विश्लेषणबाट अजय पञ्चकुलामा रहेको पत्ता लगायो । त्यसपछि अपराध महाशाखाका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले पञ्चकुलाबाट नै अजय र दीपक बरामूलाई पक्राउ गरी शुक्रबार बिहान नेपाल ल्याइपुर्यायो ।
दीपकले बोकेका थिए दाइको पासपोर्ट र भारतीय आधार कार्ड
पञ्चकुलामा अजय लामासँगै पक्राउ परेका दीपक बरामूको साथबाट प्रहरीले सन्तबहादुर बरामूको नामको पासपोर्ट फेला पारेको छ । दीपकले बोकेको उक्त पासपोर्ट दीपकका दाइ सन्तबहादुर बरामूको भएको र अनुहार मिल्ने भएकाले चिन्न समेत कठिन हुने भएकाले दीपक सन्तको नाममा हिँडिरहेका थिए ।
त्यसबाहेक दीपकको साथबाट प्रहरीले विराट शाहको नामको भारतीय आधार कार्डसमेत बरामद गरेको छ । दीपक काठमाडौंमा आफ्नी आमासँगै फलफूलको व्यापार गर्ने भनिए पनि भारतीय आधार कार्डसमेत फेला परेकाले उनी यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न भएको हो कि भन्ने आशंका रहेको प्रहरीले जनाएको छ ।
२० लाखको सुपारी लिएर विक्रममाथि आक्रमण
भारतको पञ्चकुलाबाट पक्राउ परेपछि अजयले प्रहरीसमक्षको बयानमा आफूले २० लाख रुपैयाँ पाउने आसमा विक्रममाथि आक्रमण गरेको प्रारम्भिक बयान दिएका छन् । सुरुमा आफूलाई १५ लाख रुपैयाँको अफर आएको र १५ लाखमा नमानेपछि ५ लाख थप गरिदिने सर्तमा २० लाख रुपैयाँ पाउने भएपछि विक्रम लामामाथि आक्रमण गरेको बयान दिएका छन् ।
रमेश सिलवालले दिएका थिए २० लाखको सुपारी
घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्न लगाउने व्यक्ति थिए धादिङको ज्वालामुखी–४ दोभानटारका रमेश सिलवाल । रमेश सिलवालले नै गोरखाका सिजन अधिकारीमार्फत २० लाख रुपैयाँ दिने सर्तमा विक्रम लामामाथि आक्रमण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लक्ष्मी राईका लिभिङ पार्टनर हुन् रमेश सिलवाल
रमेश सिलवालले विक्रम लामामाथि आक्रमण गराउनुको कारण भने रमेश सिलवाल आफैँ नभएर उनकी लिभिङ टुगेदर पार्टनर लक्ष्मी राई हुन् । अनि लक्ष्मी राई पीडित विक्रम लामाको पूर्व भाउजू हुन् । विक्रमको दाइ र लक्ष्मीको सम्बन्धविच्छेद हुनुमा विक्रम लामा नै कारक रहेको भन्दै लक्ष्मी राई विक्रममाथि आक्रमण गरी हत्यासमेत गर्न चाहन्थिन् । बेलायतमा बसोबास गर्ने लक्ष्मी नेपाल आएको समयमा रमेश सिलवालसँग अवैध सम्बन्धमा रहेको थाहा पाएपछि विक्रमले सो कुरा आफ्ना दाइलाई बताएका थिए ।
त्यसपछि विक्रमका दाइले यही विषयमा विवाद भएपछि लक्ष्मी राईसँग सम्बन्धविच्छेद गरेकी थिइन् । विक्रमकै कारण आफ्नो सम्बन्धविच्छेद भएको भन्दै लक्ष्मीले पटक पटक विक्रमलाई सबक सिकाउने भन्दै भनेकी थिइन् । यही मेसोमा लक्ष्मी राईले आफ्ना लिभिङ टुगेदर पार्टनर रमेश सिलवालमार्फत विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्न लगाएकी थिइन् । विक्रममाथिको आक्रमणको न्यूनतम सर्त थियो कम्तीमा ८ महिना अस्पताल वा बेड रेस्टमा हुनुपर्ने ।
रमेशले सिजनमार्फत दिएका थिए आक्रमणका लागि रकम र सुपारी
हाल भारतको पञ्चकुलाबाट पक्राउ परेका अजय लामाले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार सुरुमा विक्रममाथिको आक्रमणको सुपारी सिजन अधिकारीले ल्याएका थिए । विक्रममाथि आक्रमण गरी कम्तीमा ८ महिना अस्पतालको बास वा बेड रेस्टमा राख्न सकिएमा १५ लाख रुपैयाँ आउने भनेर सिजनले सुरुमा अजयलाई सुपारी दिन खोजेका थिए । तर अजयले १५ लाखमा नमानेपछि ५ लाख रुपैयाँ थप गरिदिने भनी कुल २० लाख रुपैयाँ दिने भएपछि अजय विक्रमलाई आक्रमण गर्न तयार भएका थिए ।
जेलमै भएको थियो अजय र सिजनको भेट
नुवाकोटका अजय लामा र गोरखाका सिजन अधिकारीको भेट सुन्धारास्थित भद्र ृहमा भएको थियो । त्यतिबेला अजय लामा लिखत किर्तेको कसुरमा ३ वर्षको कैद सजाय तोकिई जेल पुगेका थिए भने सिजन अधिकारी डाँका चोरीको कसुरमा ६ वर्ष कैद सजाय तोकिएर कैदमा बसेका थिए ।
सिजनले नक्कली सुन देखाएर ठगी र डाँका चोरी गरेको अभियोग पुष्टि भई ६ वर्ष कैदमा पठाइएका थिए भने अजयले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरेको कसुरमा ३ वर्षको कैद सजाय पाएका थिए । त्यहीँ उनीहरुबीच २०७७ सालमा भेट भई दोस्ती भएको थियो ।
विक्रमकै कारण आफू जेल पुगेको अजयको आरोप
खासमा अजय लामाले आफ्नै जेठी सासू सृष्टि लिम्बुलाई जग्गा बिक्री गर्ने भन्दै बैना गरेका थिए । तर जुन जग्गा बिक्री गर्ने भनिएको थियो, उक्त जग्गाको लालपुर्जा नै नक्कली बनाइएको थियो । उक्त लालपुर्जा नक्कली बनाउनमा अजय लामाकै संलग्नता थियो ।
बैना गरेको जग्गा नै नक्कली रहेको थाहा पाएपछि सृष्टिले प्रहरीमा उजुरी गरेकी थिइन् । सृष्टिले उजुरी गरेको थाहा पाएलगत्तै अजयले पैसा फिर्ता गरेर उजुरी फिर्ता लिन मनाउन खोजेका थिए । तर त्यतिबेला घर जग्गा व्यवसायी विक्रम लामाले सृष्टि लिम्बुलाई उचालेर मुद्दा फिर्ता लिन नदिएको र सोही कारण आफू दोषी ठहर भई जेल जानु परेको अजयको दाबी छ । विक्रमले उचालेको कारण नै आफू जेल गएको भन्दै विक्रमसँग आफ्नो रिसिइबी रहेको अजयले प्रहरीसँग बताएका छन् ।
तर त्यसभन्दा पहिले पनि विक्रमसँग आफ्नो पारिवारिक रिसिइबी रहेको अजयले बताएका छन् । नुवाकोटमै कुमार भन्ने आफन्तले विक्रमलाई सुरुमा कुटपिट गरेकामा पछि विक्रमको समूहले कुमार र उनका भिनाजुसमेतलाई कुटपिट गरेको थियो ।
अजय लामा पहिलो पटक २०६८ पुस ११ गते केही सार्वजनिक अपराधमा पक्राउ परेको देखिन्छ । तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंले अजयमाथि केही सार्वजनिक अपराधमा म्याद थप गरेर अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालयमा मुद्दा बुझाएको पाइएको छ ।…
त्यसको रिस पनि आफूसँग रहेको कारण जेलमै हुँदा बाहिर आएपछि विक्रममाथि आक्रमण गर्ने योजना अजयले बनाएका थिए ।
यता सिजन अधिकारीलाई अजयको रिसिइबी विक्रमसँग रहेको थाहा थियो । सो विषयको जानकारी पाएका सिजनको भेट नातामा मामा पर्ने रमेश सिलवालसँग हुन्छ । सिजनले नै अजय जेलबाट छुटेको समय अर्थात् २०७९ फागुन २६ पछि रमेश सिलवाल र अजयको भेट गराएका थिए ।
सिजनसँगको भेटमा अजयले पटक पटक विक्रम लामालाई ठिक पार्ने बताइरहेका थिए । यही मेसोमा लक्ष्मी राईको रिसिइबी विक्रम लामासँग रहेको र दुवै जनाको ‘शत्रु’ एकै रहेको थाहा पाएपछि रमेश सिलवालले सिजन अधिकारीमार्फत विक्रम लामामाथि ज्याने मार्ने उद्धेश्यबाट आक्रमण गर्न २० लाखको सुपारी दिएका थिए ।
करिब डेढ वर्षको रेकी
अजय लामा जेलबाट छुटेलगत्तै विक्रम लामामाथि आक्रमण गर्न योजना बनाएको र विक्रमको रेकी गरेको पाइएको छ । अपराध महाशाखाको प्रहरीसँगको प्रारम्भिक बयानमा अजयले करिब डेढ वर्ष विक्रमको रेकी गरेको बताएका छन् ।
विक्रममाथि आक्रमणको योजना बनाएको र सो कुरा सिजनलाई भनेपछि सिजनले पनि रमेश सिलवालमार्फत अर्को अफर ल्याएका थिए । सुरुमा १५ लाख र अजयले नमानेपछि थप ५ लाख गरी कुल २० लाख रुपैयाँ लिएर विक्रममाथि आक्रमण गर्ने योजना बनेको थियो ।
गत जेठ महिनादेखि भने अजयले मार्सल भन्ने शैलेन्द्र तामाङ, दीपक बरामू र निश्चल सुनारलाई समेत आक्रमण योजना बनाएर ६ महिनादेखि नै फलामको पाइप, रड आदि सँगै लिएर हिँड्ने गरेका थिए । तर अजयले मार्सल, दीपक र निश्चललाई भने २० लाखको सुपारी लिएर आक्रमण गर्न लागेको बताएका थिएनन् । आफ्नो पुरानो रिसिइबीका कारण आक्रमण गर्न लागेको मात्रै बताएका थिए । यद्यपि पछि कुनै समस्या आएमा खर्च जुटाउने आश्वासन भने अजयले दिएका थिए ।
६ महिनादेखि आक्रमण गर्न उपर्यक्त समय कुरेर बसेका अजय र उनीहरूका साथीले सिजन अधिकारीमार्फत कुरा गरेर केही रकम पनि बुझिसकेका थिए । केही दिनमै आक्रमण गर्ने योजना सुनाएपछि रमेश र लक्ष्मीले आफूहरू विदेश गएपछि मात्रै आक्रमण गर्न भनेका थिए । त्यसपछि जब लक्ष्मी राई र रमेश सिलवाल २०८१ कात्तिक ८ गते बेलायत गए, त्यसको तीन दिनपछि अर्थात् २०८१ कात्तिक ११ गते बिहान ११ बजेर ३५ मिनेट जाँदा पानीपोखरीमा रहेको इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरिएको थियो । ४ जनाको समूहले टाउकोसमेतमा आक्रमण गरी मृत्यु भयो भन्ने ठानेर उनीहरू भागेका थिए । यद्यपि समयमै उपचार हुँदा विक्रम बाँच्न सफल भएका छन् ।
यता मार्सल पक्राउ परेको मितिले ५८ औँ दिन अर्थात् प्रहरीले संगठित अपराधमा म्याद थप गरेको ५८ दिनमा सिजन अधिकारी दिल्लीबाट पक्राउ परी नेपाल ल्याइएका थिए । तर जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिलले समय अभावमा सिजनसँग राम्रोसँग बयान पनि नलिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिदियो । संगठित अपराधमा म्याद थप गरी अनुसन्धान गरिएको भएपनि जिल्ला न्यायाधिवक्ता रमेश भट्टराईले ज्यान मार्ने उद्योगमा मात्रै मुद्दा दर्ता गरिदिए भने सिजन अधिकारीको हकमा कमजोर मिसिल तयार पारियो । त्यसपछि अदालतमा पेस हुँदा तत्काल प्राप्त प्रमाणबाट सिजन अधिकारीको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरियो । जबकि अनुसन्धानले यो घटनाको योजनाकार अजय नभएर सतहमा सिजन अधिकारी र पर्दा पछाडि रमेश सिलवाल हुँदै लक्ष्मी राई देखिएका छन् ।
अजयमाथि यसअघि चलेको थियो ४ मुद्दा
यस घटनाका मुख्य अभियुक्त भनिएका अजय लामामाथि यसअघि नै ४ वटा मुद्दा चलेको प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस)मा देखिन्छ । अजय पेसेवर आपराधिक पृष्ठभूमिको व्यक्ति भएको र उनले यसअघि डाँका चोरी, केही सार्वजनिक अपराध र लिखतसम्बन्धी कसुर गरेको पाइएको छ ।
अजय लामा पहिलो पटक २०६८ पुस ११ गते केही सार्वजनिक अपराधमा पक्राउ परेको देखिन्छ । तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंले अजयमाथि केही सार्वजनिक अपराधमा म्याद थप गरेर अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालयमा मुद्दा बुझाएको पाइएको छ ।
त्यसै गरी २०७६ माघ २७ गते अजयमाथि लिखतसम्बन्धी कसुरमा प्रहरी वृत्त गौशालाले मुद्दा चलाएको पाइएको छ । सो मुद्दामा अजय लामा करिब ४ वर्ष जेल बसेर निस्किएको पाइएको छ ।
यस्तै, २०८० पुस ९ गते अजयमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले केही सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाएको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी काजीकुमार आचार्यले घटनामा संलग्न अजय लामा र दीपक बरामूलाई लामो समयको अनुसन्धानपछि नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको बताए ।
उनीहरुलाई महाशाखाका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले पक्राउ गर्न सफल भएको हो । डीएसपी घिमिरे नेतृत्वको टोलीले काठमाडौं उपत्यकामा अपराध गरी भारतमा भाग्न सफल भएका दर्जनौं व्यक्तिलाई पक्राउ गरिसकेको छ ।
यो पनि…
मुख्य अभियुक्त अजय लामा र दीपक बरामू भारतको हरियाणाबाट पक्राउ
लाजिम्पाट रड प्रहार प्रकरण : कहाँ छन् मुख्य अभियुक्त अजय लामा ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया