रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीशको आलोचना गरेका अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा

लोकपथ
525
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा धरौटीमा छाड्न आदेश दिने जिल्ला अदालतका न्यायाधीशको आलोचना गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना अभियोगमा शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, उदयपुर घर भई काठमाडौं बस्ने दिलकुमार राईले बिहीबार वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध निवेदन दिएका थिए । उक्त मुद्दाको पेसी पर्सि आइतबारका लागि तोकिएको पनि सूचना अधिकारी श्रेष्ठले बताए । अदालतको अवहेलनामा उनीमाथि हदैसम्मको कारबाही माग गरिएको छ ।

अन्तर्वार्तामा वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीशमाथि कार्यक्षमतामाथि प्रश्न उठाएर टिप्पणी गरेको आरोप छ ।
सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले रविलाई धरौटीमा छाड्न आदेश दिएपछि त्रिपाठीले उनीहरूमा कार्यक्षमताको अभाव देखिएको भनी टिप्पणी गरेका थिए । जसविरुद्ध बहालवाला न्यायाधीशहरूले पनि बिहीबार संस्थागत विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी जम्मा गरी रिहा भएका थिए । कास्की अदालतको आदेश त्रुटिपूर्ण रहेको जिकिर गरी रविलाई थुनामै राख्नुपर्ने माग राख्दै सरकारी पक्षले उच्च अदालतमा निवेदन पनि दिइसकेको छ ।

हाल भने रविविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । त्रिपाठीले सहकारी ठगी प्रकरणमा जाहेरवाला पक्षको तर्फबाट बहस गर्दै आएका छन् । अहिले उनी सुप्रिम सहकारीको थुनछेक बहसका क्रममा बुटवलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?