अख्तियारलाई हर्क साम्पाङको जवाफ : ‘बिहान ट्वाइलेट जान पनि पानी नभै हुन्न, अनि…’

लोकपथ
175
Shares

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीलाई जवाफी पत्र पठाएका छन् ।

गत माघ २ गते अख्तियारले मेयर साम्पाङको श्रमदानमा आधारित खानेपानी योजनामा भ्रष्टाचार भएको भन्दै परेको उजुरीबारे जवाफ पठाउन पत्र पठाएको थियो । साम्पाङले आज धरानमा खानेपानीको समस्या विकराल रहेको भन्दै अख्तियारलाई पत्र पठाएका हुन् ।

त्यसो त यसअघि नै धरान खानेपानी बोर्डको अध्यक्षको जिम्मेवारी समेत खोसेर आफैँले लिएका उनले उपमहानगर खानेपानी बोर्ड दुवैबाट एकै प्रकृतिको पत्र पठाएका हुन् ।

मेयर साम्पाङले धरान बजारबाट ४२ किलोमिटर टाढाबाट पानी ल्याएर धरानवासीलाई खानेपानी सुविधा दिएको उल्लेख गरेका छन् । उनले अनौपचारिक रुपमै आफूहरुले दुःख गरेर पानी ल्याएको विषय उल्लेख गरेका छन् ।

‘…त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीरपाखा, डाँडाकाँडा, झोर, जङ्गल, खोलाखोल्सी, उकाली ओराली, भन्ज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै घुमाउँदै घुमाउँदै लड्दै र पड्दै…तान्यो… तान्यो… एक्छिन् है… विस्तारै सुल्काउँ है…भन्दै… ओहोइ भनुँ त… भन्दै घरी नाच्दै र गाउँदै पनि… विजोग रमाइलो गरी ल्याउँदैछौँ,’ उनले भनेका छन् ।

त्यस्तै आफू खानेपानीको समस्या समाधानका लागि केन्द्र सरकारलाई गुहार्न धोत्रो गाग्री बोकेर काठमाडौं आएको तर सरकारले आफ्नो कुरा नसुनेको समेत बताएका छन् ।

कोशी नदीबाट पानी ल्याएर धरानका जनतालाई खुवाउने केन्द्र सरकारले चासो नदेखाएका कारण आफूले सहयोगी र समर्थकको सहयोगमा कोहाहा खोलाको पानी ल्याउन लागिएको स्पष्ट पारेका छन् ।

‘अब केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोर्डको स्वयत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको छ,’ उनले भनेका छन् ।

साथै त्यसबारे उजुरी गर्नेहरुलाई समेत मेयर साम्पाङ खनिएका छन् । उजुरी गर्नेले श्रमदान नगरेको र कुनै सहयोग नगरेको भन्दै साम्पाङ खनिएका छन् ।

‘त्यो वाइयात उजुरी लाउने मान्छेले कतिवटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर लेखि पठाउनुहोला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ?,’ आक्रोशित हुँदै साम्पाङले भनेका छन् ।

हर्क साम्पाङले अख्तियारलाई पठाएको पत्र

त्यस्तै राज्यको अर्बौैँ रकम गायब बनाउने एनसेल, वाइडबडी लगायत काण्डहरु छाडेर श्रमदानको विरोध गर्दा तिर्खाएका धराने जनताहरुको श्राप लाग्ने टिप्पणी गरेका छन् ।

‘राज्यको ढुकुटी खर्चिएर मेलम्ची, दमक टावर, एनसेल, वाइडबडी जस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला । पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यक्ता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान् है फेरि,’ उनले भनेका छन् ।

गत निर्वाचनमा धरानमा खानेपानीको व्यवस्थापन गर्ने योजनासहित मेयरमा प्रतिष्पर्धा गरेका साम्पाङ निर्वाचित भएका थिए ।

उनी निर्वाचित भएपछि श्रमदान मार्फत् खानेपानी लगायतका योजनाहरु सम्पन्न गर्न समेत अघि सरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?