रवि लामिछानेको मुद्दामा तेस्रो दिन आज पनि सकिएन बहस

लोकपथ
707
Shares

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा आज पनि बहस सकिएन ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बुधबार आफैँ अदालतमा उपस्थित भएका लामिछानेको तेस्रो दिन पनि बहस नसकिएको हो ।

बुधबारबाट जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको मुद्दामा बहस भइरहेको छ । बुधबार लामिछानेले बयान दिएपछि बिहीबारबाट थुनछेक बहस सुरु भएको थियो । पहिलो दिन सरकारी वकिलको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलसहित गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, रवि न्यौपाने र प्रकाश मरासिनीले बहस गरेका थिए ।

त्यस्तै जाहेरकर्ता अर्थात् सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीसहित ४ जनाले बहस गरेका थिए ।

त्यस्तै आज रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका हुन् । अन्य वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठसहित डा. नारायण कँडेल, राजेन्द्र सेडाईँ, सुरज बस्नेत लगायतले आजै बहस गर्ने तयारी गरे पनि समय अपुगका कारण आइतबार मात्रै बहस गर्नेछन् ।

प्रतिवादीहरुका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिल र जाहेरकर्ताका अधिवक्ताहरुले जवाफी बहस गर्नेछन् । त्यसपछि मात्रै आदेश आउनेछ ।

लामिछानेलाई सहकारी ठगी प्रकरणमा यसअघि नै दुई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालत कास्कीले ६५ लाख र जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । साथै जिल्ला अदालत रुपन्देही बाहेक अन्य दुई अदालतमा समेत लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दा विचाराधीन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?