बालविवाह मुक्त अभियानमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री लामा

लोकपथ
14
Shares

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । आज मुख्यमन्त्री कार्यालय हेटौंडामा बालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्दै बागमती प्रदेश सरकार बालविवाह मुक्त अभियानमा प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री लामाले यसअघि नै प्रदेश सरकारले बालविवाह मुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको समेत बताए । ‘हामीले यसअघि नै कानुन बनाइसकेका छौँ, स्थानीय तहहरूमा पनि नीति र कानुन बनाउँदैछौँ,‘उनले भने, ‘कानुनी र संवैधानिक रूपमै हामी बालविवाह मुक्त प्रदेशका लागि प्रतिबद्ध छौँ ।

हस्ताक्षर समारोहमा सामाजिक अभियानकर्मी बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारी, देवकी रेग्मीलगायत बालबालिकाको सहभागिता रहेको थियो । सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घोषणा गरिसक्नका लागि गत पुस १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर अभियानको सुरुआत गरेका थिए । त्यसपछि सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरूले संयुक्त रूपमा राष्ट्रिय अभियानको सुरुआत गरेका थिए ।

विश्वव्यापी यो अभियान तीन महादेशका करिब २८ राष्ट्रमा सञ्चालित छ । बालविवाह रोकथामका लागि प्रदेश सरकारका मुख्यमन्त्री लामाले गरेको प्रतिबद्धताप्रति धन्यवाद दिँदै अभियानकर्मी पाण्डेले बालविवाह रोकथामका लागि समुदाय स्तरबाट पनि अभियान थाल्नुपर्ने बताए ।

उनले शारीरिक र मानसिक रूपमा परिपक्व भएर मात्रै विवाह गर्नु उपयुक्त हुने हुँदा नेपालको कानुनले २० वर्ष पुगेपछि मात्र विवाह गर्न योग्य मानेको जानकारी दिए । अहिले पनि बालविवाहका घटना सुनिँदै आएकामा राज्यले यसलाई रोक्नका लागि कानुनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिन उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?